कलैया,बाराको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूले विद्यार्थीसंग लिने मासिक र अन्य शुल्कमा एकरुपता कायम गर्ने प्रक्रिया अघि बढाएको छ ।उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख राजिवकुमार यादवका अनुसार नगरभित्रका निजी विद्यालयहरूले लिने शुल्कमा देखिएको भिन्नतामा एकरुपता गरेर व्यवस्थित पार्ने गृहकार्य सुरु गरिएको हो ।
यसको लागि आवश्यक छलफल र सहमति कायम गर्न पालिकाकाको शुल्क निर्धारण समितिको भोलि बुधबार बिहान ११ बजे बैठक बस्ने भएको छ । बैठकमा सरोकारवाला निकाय, विद्यालय सञ्चालकका प्रतिनिधि, शिक्षा क्षेत्रका अगुवा तथा अभिभावकहरूको सहभागिता रहने जनाइएको छ ।
महाशाखा प्रमुख यादवले अभिभावकहरूको गुनासो तथा प्रचलित कानुनलाई ध्यानमा राख्दै विद्यालयहरूको वर्गीकरण र उपलब्ध सुविधाका आधारमा यथोचित शुल्क निर्धारण गरिने जानकारी दिनुभयो ।बैठकबाट शुल्कको सीमा र मापदण्ड निर्धारण गरिने बताइएको छ । उहाँका अनुसार जथाभावी शुल्क लिने परिपाटीको अन्त्य गर्दै शिक्षा क्षेत्रलाई थप पारदर्शी र मर्यादित बनाउन उपमहानगरपालिकाले पहल सुरु गरेकोे हो ।उपमहानगरपालिकाले शिक्षाको गुणस्तर सुधारसँगै शुल्क व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर अघि बढेको प्रमुख यादवले स्पष्ट पार्नुभएको छ ।



















