आरके राजन
सिम्रौनगढ,नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले तस्करी नियन्त्रण र लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिनुभएको छ ।बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै आईजीपी कार्कीले घरायसी प्रयोजनका लागि ल्याइने सानो परिमाणको सामान समातेर ठूलो तस्करीमा संलग्नलाई छुट दिने प्रवृत्ति स्वीकार्य नहुने बताउनुभएको छ ।

‘घरमा प्रयोगका लागि ल्याइने एक किलो काउली समात्ने प्रहरीले काउलीका काउली छोड्ला । त्यस्तो गर्ने प्रहरीको टिकट काटिन्छ, कारबाही हुन्छ’ कार्कीले भन्नुभयो, ‘त्यसैले कारबाहीको भागिदार हुने काम नगर्नु । तस्करी नियन्त्रणमा जिम्मेवार भएर काम गर्नु ।’
उहाँले तस्करी नियन्त्रणका लागि प्रहरी मात्र नभई समुदाय पनि जागरुक हुनुपर्ने बताउनुभयो । लागूऔषधलाई समाजको मुख्य समस्याका रूपमा चित्रित गर्दै कार्कीले यसको कारोबार, ओसारपसार र बिक्रीमा संलग्नविरुद्ध निर्मम रूपमा प्रस्तुत हुन आग्रह गर्नुभयो । ‘लागूऔषधले धेरैको घरपरिवार बिचल्ली पारेको छ । ऊर्जाशील युवाहरू यसैको कुलतमा फसिरहेका छन्’ उहाँले भन्नुभयो, ‘यसलाई नियन्त्रण गर्नुको विकल्प छैन ।’
आईजीपी कार्कीले प्रहरी कार्यालयमा सेवा लिन आउने नागरिकलाई दुःख दिनेभन्दा छिटोछरितो सेवा प्रवाहमा ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले न्याय प्रक्रियामा बिचौलिया तथा अनावश्यक व्यक्तिको हस्तक्षेप हुन नदिन आग्रह गर्दै पीडितलाई न्याय दिलाउन प्रहरी आफैं जिम्मेवार हुनुपर्ने पनि बताउनुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकतामा राखेर नेपाल प्रहरीले काम गरिरहेको उल्लेख गर्दै उहाँले नयाँ सेवा केन्द्र सञ्चालनपछि सेवाग्राहीले सहज, सुरक्षित र प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।बेलायत सरकारको सहयोगमा निर्माण गरिएको उक्त भवन उद्घाटन कार्यक्रममा मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षक गोबिन्द थपलिया, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरीप्रसाद कलवार, पचरौता नगरपालिकाका प्रमुख जलान्धर सिंह, बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका ट्राफिक प्रहरी उपरीक्षक ज्ञानेन्द्र बस्नेतलगायत विभिन्न सुरक्षा निकायका पदाधिकारीको उपस्थिति रहेको थियो ।

Leave a Reply