बाराको निजगढ नगरपालिकामा बिवाद चरम अवस्थामा छ । बिवाद बढ्दै गएका कारण नगरपालिकाबाट सेवा प्रवाहमा समेत समस्या भइरहेको छ । जसका कारण बाराको निजगढका नगरवासीहरुले समस्या झेलिरहेका छन् । दैनिक हुने कार्य सम्पादन नभएपछि नगरवासी मारमा पर्नु स्वभाविक भएपनि स्थानीय सरकारको प्रमुखका नाताले जनप्रतिनिधिहरु भने गम्भीर भएको पाइएको छैन ।

मुलतः निजगढ नगरपालिकाबाट बाराको पचरौता नगरपालिका सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले संघीय मामला तथा स्थानीय विकास मन्त्रालयको निर्णय उल्टाउदै सरुवा थमौति गरेपछि नगरपालिकामा बिवाद उत्पन्न भएको हो । राजनीतिक पहुँच र शक्तिको प्रयोग गर्दै कार्कीले सरुवा भएर गएको ३ दिनपछि सरुवा थमौति गराएका थिए । तर नगर प्रमुख सुरत पुरीले कार्कीलाई हाजिर नगराउने अडान लिएपछि बिवाद उत्कर्षमा पुगेको छ । उनले मन्त्रालयको निर्णय अपरिपक्क अस्थिर भएको भन्दै कार्कीको स्थानमा निजगढ पठाइएका हरिलाल पुरीलाई हाजिर गराउने प्रयास गरेका थिए । तर कार्कीलाई निजगढ थमैति गरेपछि अधिकृत पुरीलाई मन्त्रालयमा नै तानिएको छ । उता, नेपाली कांग्रेस र नेकपा माओवादीको बहुमत रहेको कार्यपाकिलाका बहुमत सदस्यहरुले मन्त्रालयबाट थमैति भएर आएका अधिकृत कार्कीलाई हाजिर गराउनु पर्ने माग गर्दै नगर प्रमुख पुरी र उपप्रमुख सोममाया थिङ्गको कार्यकक्षमा तालाबन्दी गरेका छन । कर्मचारी सरुवाको बिवादमा जनप्रतिनिधिहरु कार्यालयको तालाबन्दीमा उत्रिएपछि नगरपालिकाको सेवा अवरुद्ध बनेको हो ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढले ७२ घण्टाको समय दिएर तालाबन्दी खोल्ने चेतावनी दिएको छ । कार्यालयको तालाबन्दी खोल्ने बारेमा राप्रपा एक माध्यम जस्तो देखिएको भएपनि यो निजगढवासीको आवाज हो । त्यसैले निजगढ नगरपालिकाका जनप्रतिनिधिहरुले आफ्नो निहित स्वार्थलाई हेर्नुभन्दा पनि नगरवासीहरुको भावना बुझ्नु पर्दछ । लामो समय स्थानीय सरकार बन्धक हुनु भनेको त्यहाँको सरकार संचालकहरुको पनि असफलता हुन्छ । त्यसैले अब निजगढको निकास चांडो दिन आवश्यक छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here