एजेन्सी — सन् २०१८ मा एक महिलाले आफ्ना दुई वर्षे जुम्ल्याहा छोराका वास्तविक पिता को हुन् भन्ने यकिन गर्न National University of Colombia अन्तर्गतको ल्याबोरेटरी अफ पपुलेशन जेनेटिक्समा पितृत्व परीक्षण गराइन्। परीक्षणको नतिजाले वैज्ञानिकहरूलाई समेत आश्चर्यचकित बनायो।
प्रयोगशालामा गरिएको नियमित ‘प्याटर्निटी टेस्ट’ दोहोर्याएर जाँच्दा पनि एउटै नतिजा आयो—जुम्ल्याहा बच्चा एउटै आमाबाट जन्मिए पनि उनीहरूका पिता फरक–फरक थिए।
यो अत्यन्तै दुर्लभ जैविक घटना हो, जसलाई Heteropaternal superfecundation भनिन्छ। विश्वभर वैज्ञानिक अभिलेखमा अहिलेसम्म यस्ता करिब २० वटा घटनामात्रै दर्ता भएका छन्।
उक्त विश्वविद्यालयका विज्ञहरूका अनुसार यस प्रकारको घटना सम्भव हुने सैद्धान्तिक ज्ञान भए पनि प्रत्यक्ष रूपमा पुष्टि भएको घटना भने निकै कम पाइन्छ। आफ्नै प्रयोगशालामा यस्तो प्रमाण फेला परेपछि अनुसन्धानकर्ताहरूमा यसप्रति थप चासो बढेको थियो।
कसरी पत्ता लाग्यो?
पितृत्व परीक्षणका क्रममा वैज्ञानिकहरूले ‘माइक्रोस्याटेलाइट मार्कर’ प्रविधि प्रयोग गरेका थिए। यस प्रविधिमा बच्चा, आमा र सम्भावित पिताबाट संकलित डीएनए नमूनाको सूक्ष्म विश्लेषण गरी तुलना गरिन्छ।
प्रयोगशालाका निर्देशक विलिअम उसाकेन का अनुसार, “हामी प्रत्येक व्यक्तिको डीएनए नमूना लिएर १५ देखि २२ वटा माइक्रोस्याटेलाइट बिन्दुहरू जाँच गर्छौं र तिनलाई एक–एक गरी तुलना गर्छौं।”
यस प्रक्रियाबाट दुवै बच्चाको डीएनए एउटै आमासँग मेल खाए पनि पितासँग सम्बन्धित आनुवंशिक संकेतहरू फरक–फरक देखिएपछि उक्त दुर्लभ घटना पुष्टि भएको हो।
के हो हेटरोप्याटर्नल सुपरफेकन्डेशन?
यो यस्तो अवस्था हो, जसमा एउटै महिलाले एउटै महिनावारी चक्रभित्र दुई फरक पुरुषसँग यौन सम्पर्क गर्दा फरक–फरक शुक्रकीटबाट दुई अण्डा निषेचित हुन्छन्। परिणामस्वरूप जुम्ल्याहा बच्चा जन्मिए पनि उनीहरूका पिता फरक हुन्छन्।
विज्ञहरूका अनुसार यस्तो घटना अत्यन्तै दुर्लभ भए पनि जैविक रूपमा सम्भव छ र आधुनिक डीएनए परीक्षण प्रविधिले मात्र यसलाई स्पष्ट रूपमा पहिचान गर्न सम्भव भएको हो।



















