काठमाडौं — ग्लोबल स्टार राम चरण अभिनीत आगामी फिल्म पेड्डी २०२६ का बहुप्रतीक्षित चलचित्रमध्ये एक बनेको छ। घोषणा भएदेखि नै चर्चामा रहेको यस फिल्मले पछिल्ला दिनमा सार्वजनिक भएका बिहाइन्ड-द-सीन्स (BTS) झलकपछि थप उत्साह सिर्जना गरेको छ।

फिल्ममा जान्हवी कपूरजगपति बाबू पनि मुख्य भूमिकामा देखिनेछन्। सुरुवातमा गाउँका क्रिकेटरका रूपमा प्रस्तुत गरिएका राम चरणलाई हालै ‘पेड्डी पहलवान’ अवतारमा देखाइएको छ, जसले दर्शकलाई चकित बनाएको छ।

फिल्मका सिनेमाटोग्राफर आर. रत्नावेलु ले सामाजिक सञ्जालमार्फत कलर ग्रेडिङ प्रक्रियाका केही झलक सार्वजनिक गरेका छन्। ती झलकमा उनी चर्चित कलर विज्ञ एन्ड्रियास ब्रुकल सँग मिलेर फिल्मको भिजुअल टोन र डिटेलमा काम गरिरहेको देखिन्छ। सार्वजनिक तस्वीरहरूले फिल्मलाई हलिउड स्तरको लुक दिन उच्चस्तरीय प्रविधि प्रयोग भइरहेको संकेत गरेका छन्।

यसअघि रिलिज भएको फिल्मको पहिलो गीत चिकिरी चिकिरी चार्टबस्टर सावित भइसकेको छ। ए. आर. रहमान को सङ्गीतमा तयार उक्त गीतले सबै प्लेटफर्ममा २० करोडभन्दा बढी भ्यूज बटुलेको छ।

त्यस्तै, दोस्रो गीत रई रई रा रा पनि हाल उच्च उर्जासहित सार्वजनिक गरिएको छ, जसले युट्युबमा मात्रै ५.८ करोडभन्दा बढी भ्यूज प्राप्त गर्दै तीव्र रूपमा भाइरल भइरहेको छ।

बुची बाबू सना द्वारा निर्देशित यस फिल्ममा शिवा राजकुमार, दिव्येंदु शर्मा लगायत कलाकारको पनि अभिनय रहनेछ। वेंकट सतीश किलारुको निर्माणमा तयार भएको फिल्म वृद्धि सिनेमाज र माइथ्री मूवी मेकर्सको सहकार्यमा निर्माण गरिएको हो।

फिल्म ‘पेड्डी’ आगामी ३० अप्रिल २०२६ मा विश्वभरका सिनेमाघरमा प्रदर्शन हुने तयारीमा रहेको छ।

Leave a Reply