काठमाडौं । प्रहरी संगठनका प्रमुखसहित केही उच्च अधिकारीलाई पदमुक्त गर्न सकिने चर्चाबीच नेपाल प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी प्रमुखलाई काठमाडौं बोलाएको छ। उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजीसहित प्रदेश प्रहरी प्रमुख रहेका डीआईजीहरूलाई नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको हो।

प्रहरी स्रोतका अनुसार संगठनको चेन अफ कमान्ड, शान्तिसुरक्षा व्यवस्थापन तथा प्रहरीको कार्यसम्पादनमा असर पार्ने विषयमा छलफल गर्न प्रदेशका प्रहरी प्रमुखहरूलाई काठमाडौं बोलाइएको हो। पछिल्लो समय प्रहरी संगठनबारे सार्वजनिक भइरहेका विभिन्न चर्चाले संगठनभित्र र बाहिर पार्न सक्ने प्रभावलाई ध्यानमा राखेर आवश्यक रणनीति तय गर्न खोजिएको स्रोतको भनाइ छ।

बिहीबार दिउँसो १२ बजेसम्म प्रधान कार्यालयमा उपस्थित हुन भनिएअनुसार प्रदेश प्रहरी प्रमुखहरू काठमाडौं आउने क्रम जारी रहेको बताइएको छ। बोलाइएका एक डीआईजीले आफू काठमाडौं पुग्न लागेको जानकारी दिए पनि कुन विषयमा छलफल गर्न बोलाइएको हो भन्नेबारे आफूलाई जानकारी नभएको बताएका छन्।

प्रदेश प्रहरी प्रमुखहरू प्रधान कार्यालय पुग्नुअघि नै पोलिसी कोअर्डिनेसन कमिटी ९पीसीसी० को बैठक सुरु भएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) को अध्यक्षतामा बस्ने उक्त बैठकमा प्रधान कार्यालय तथा काठमाडौं उपत्यकामा कार्यरत एसएसपी तहसम्मका अधिकृत सहभागी हुने प्रहरी स्रोतले जनाएको छ।

प्रहरीप्रतिको जनविश्वास कायम राख्न, संगठनको कमान्ड प्रणालीलाई प्रभावकारी बनाउन तथा शान्तिसुरक्षा व्यवस्थापनमा कुनै अवरोध आउन नदिन आवश्यक कदम चाल्न खोजिएको स्रोतको दाबी छ। प्रहरीको कामकारबाही र संगठनको आन्तरिक व्यवस्थापनमा बाह्य हस्तक्षेप वा चलखेल हुन नहुने विषयमा पनि छलफल केन्द्रित हुन सक्ने बताइएको छ।

यसैबीच, केही प्रदेश प्रहरी प्रमुख भने विभिन्न कामले यसअघि नै काठमाडौंमा रहेका थिए। कोशी प्रदेशका डीआईजी शेखर खनाल केही दिनदेखि बिदामा काठमाडौंमै छन् भने मधेश प्रदेशका डीआईजी ओमप्रसाद अधिकारी पनि कार्यालयको कामका सिलसिलामा राजधानीमा रहेका छन्।

त्यस्तै, बागमती प्रदेशका डीआईजी दीपक रेग्मी, लुम्बिनीका डीआईजी भूपेन्द्रबहादुर खत्री, कर्णालीका डीआईजी जयराज सापकोटा र सुदूरपश्चिमका डीआईजी सानुराम भट्टराई हवाई मार्गबाट काठमाडौं आइरहेको स्रोतले जनाएको छ।

Leave a Reply