बारा । बाराको कोल्हबीस्थित मधुवन वन क्षेत्रबाट अवैध रूपमा काठ ओसारपसार गर्न लागेको अवस्थामा वन कर्मचारीले एक चालकलाई गाडीसहित पक्राउ गरेका छन्। वन कर्मचारीको टोलीले मधुवनको ‘१६ किलो’ भनिने जङ्गल क्षेत्रबाट ८६।७ क्युफिट काठको गोलिया बरामद गरेको हो।

पक्राउ पर्नेमा रौतहटका २९ वर्षीय चालक जलन्धर महतो रहेका छन्। सवडिभिजन वन कार्यालय कोल्हबीका कर्मचारीले काठ लोड गरिएको गाडी नियन्त्रणमा लिने क्रममा संलग्न केही व्यक्ति भने फरार भएका छन्। फरार व्यक्तिहरूको खोजी भइरहेको वन कार्यालयले जनाएको छ।

वन कर्मचारीका अनुसार काठ ओसारपसारमा प्रयोग गरिएको गाडीमा नक्कली नम्बर प्लेट राखिएको पाइएको छ। कर्मचारीले बा १ च ८९११ नम्बरको जिपबाट काठ बरामद गरेका थिए। तर, उक्त गाडीको वास्तविक नम्बर ना १ च ८९११ रहेको वन कार्यालयले जनाएको छ।

घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा खोजी गर्ने कार्य भइरहेको छ। पक्राउ परेका चालक महतोमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको डिभिजन वन कार्यालय बाराका प्रमुख सुजितकुमार झाले जानकारी दिएका छन्।

Leave a Reply