चितवन । नेपाली हास्य मनोरञ्जनलाई देशभर विस्तार गर्ने उद्देश्यसहित चितवनको भरतपुरमा कात्तिक १४ गते ‘कमेडी उत्सव २०८३’ आयोजना हुने भएको छ। ग्लेज इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रममा नेपाली हास्य क्षेत्रका चर्चित कलाकारहरूले प्रस्तुति दिनेछन्।
भरतपुरस्थित होटल पौवामा आयोजना हुने उत्सवमा सुमन कार्की, सुवोध गौतम, मेक्सम गौडेल, प्रभात लामा, सीता न्यौपाने र कैलाश कार्कीलगायत कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।
नेपाली कमेडी संस्कृतिलाई देशका विभिन्न सहरमा पुर्याउने लक्ष्यसहित आयोजना गर्न लागिएको यस उत्सव देशका छ प्रमुख सहरमा सञ्चालन हुनेछ। कार्यक्रमले स्थानीय दर्शकलाई आफ्नै सहरमा लोकप्रिय हास्य कलाकारहरूको प्रस्तुति प्रत्यक्ष हेर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
ग्लेज इन्टरटेनमेन्टका अध्यक्ष विक्रम भण्डारीका अनुसार उत्सव कात्तिक ११ गते नेपालगञ्जको लिला प्यालेसबाट सुरु हुनेछ। त्यसपछि कात्तिक १३ गते बुटवल, १४ गते चितवन, १५ गते पोखरा, १७ गते बर्दिवास र १९ गते इटहरीमा कार्यक्रम आयोजना गरिनेछ।
अध्यक्ष भण्डारीले नेपाली हास्य मनोरञ्जनको सम्भावना उजागर गर्न तथा देशभर मनोरञ्जनात्मक कार्यक्रमप्रति दर्शकको आकर्षण बढाउन उत्सवले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
आयोजकका अनुसार कार्यक्रममार्फत नेपाली कमेडी संस्कृतिलाई थप सशक्त बनाउनुका साथै कलाकार र दर्शकबीचको सम्बन्धलाई अझ नजिक बनाउने प्रयास गरिएको छ।
उत्सवमा सहभागी हुन चाहने दर्शकले इसेवामार्फत टिकट लिन सक्ने अध्यक्ष भण्डारीले जानकारी दिएका छन्।















