काठमाण्डौ – बिहीवार दिनभरि पटक–पटक छलफल र सहमतिको प्रयास गर्दा पनि संसद् बैठक चल्न सकेन । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने मागबाट नेपाली कांग्रेस टसमस नभएपछि बिहीवार पनि सहमति जुट्न नसकेको हो ।बिहीवार बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधि सभाको बैठक सत्तारूढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि दिउँसो ४ बजेका लागि सारिएको थियो । सभामुख देवराज घिमिरले सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग टेलिफोन वार्तापछि बैठक निर्धारित समयभन्दा केही पछि सारिएको थियो । झन्डै दुई घण्टा ढिलो गरी शुरु भएको बैठकमा पनि कांग्रेस सांसदले नाराबाजी गर्दै अवरोध गरिरहेका छन् ।
दिउँसो प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग छलफल गर्नुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले पहिले रवि लामिछानेलाई संसद्को रोस्टममा गएर बोल्न पाउनुपर्ने र त्यसपछि संसदीय समिति गठनको प्रक्रियामा जान सकिने माग गरेको थियो । तर कांग्रेसले भने रवि लामिछानेमै केन्द्रित रहेर पहिले संसदीय छानबिन समिति गठन गरेपछि मात्रै लामिछानेलाई बोल्न दिने अडान राखेपछि दिनभरको प्रयास असफल भएको हो ।
कांग्रेसले उपप्रधानमन्त्री लामिछाने केन्द्रित अनुसन्धानका लागि समिति बनाउने अडान लिएको छ । रास्वपाले भने सबै सहकारी घोटाला प्रकरणको एउटै समिति बनाउनुपर्ने र त्यस्तो समिति लामिछाने केन्द्रित हुन नहुने अडान लिएको छ ।
सहमति नजुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरोधलाई निरन्तरता दिने निर्णय गरेको हो । सहमति नजुटेपछि गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा आक्रोशपूर्ण स्टाटस लेख्नुभएको छ । उहाँले आफूले एकपटक बोल्न पाउनुपर्ने मात्रै माग गरेको तर कांग्रेसले घिनलाग्दो गरी मिडिया ट्रायल गरिरहेको आरोप लगाउनुभएको छ ।
कांग्रेस र रास्वपाबीचको विवादका कारण सरकारले गत मंगलवार सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि छलफल हुन पाएको छैन । यही जेठ १५ गते सरकारले आउँदो वर्षको बजेट संसदमा पेश गर्नुपर्छ । अहिलेकै अवस्था रहिरहेमा बजेटसमेत प्रभावित हुने देखिएको छ ।यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बिहीवारको बैठक स्थगित भएको छ ।बैठक शुरु हुनासाथ कांग्रेसका सांसद आ–आफ्नो ठाउँबाट उठेर अवरोध गरेपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक शुक्रवार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित गर्नुभएको हो ।कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद्को दुवै सदनको बैठकमा अवरोध गर्दै आएको छ ।