वीरगञ्ज,वीरगञ्जका फुटबल प्रशिक्षक हरिबहादुर श्रेष्ठको निधन भएको छ । श्रेष्ठको सोमवार बिहान १ बजे नेशनल मेडिकल कलेजमा ७५ वर्षको उमेरमा निधन भएको हो ।दुई वर्षअघि मुटुको सामान्य उपचार गराउनुभएका उहाँको स्वास्थ्य अवस्था सामान्य नै रहेपनि आइतवार अचानक स्वास्थ्यमा समस्या आएपछि नेशनल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।श्रेष्ठको उपचारको क्रममा अस्पतालमै निधन भएको परिवारजनले बताएका छन् । उहाँको सोमवार नै अशोक वाटिका स्थित श्मसानघाटमा अन्त्यष्टि गरिएको छ ।उहाँको पार्थिव शरीरमा पर्सा जिल्ला फुटबल संघ पर्साले झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएको थियो । पर्सा जिल्ला फुटबल संघका अध्यक्ष अनिल कलवार (रोशन) लगायत पदाधिकारीहरुले झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको हो । २००५ सालमा जन्मिनु भएका श्रेष्ठ जिल्ला खेलकुद विकास समिति पर्साको फुटबल प्रशिक्षकका नियुक्त भई सेवानिवृत्त हुनुभएको थियो ।उहाँ झण्डै ४० वर्षसम्म प्रशिक्षकका रुपमा सक्रिय रहनुभएको थियो । श्रेष्ठको निधनले पर्सा जिल्ला फुटबल संघले एकजना अभिभावक गुमाउनु परको संघका अध्यक्ष गुप्ताले बताउनुभयो । उहाँको निधनले पर्सा जिल्लामा मात्रै नभई समग्र फुटबल क्षेत्रमा नै अपुरणीय क्षति भएको गुप्ताको भनाई छ ।

 

Leave a Reply