मनोेज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका– ६ स्थित नगौल क्षेत्रको सार्वजनिक र निजी जमिनबाट अवैध रूपमा माटो उत्खनन भइरहेको पाइएको छ । नगरपालिकाको अनुमति बिना र राजस्व नै नतिरी निजी र सार्वजनिक जमिनबाट एक्साभेटरको प्रयोग गरेर दिनदहाडै माटो निकाल्ने काम भइरहेको स्थानीयले बताएका छन ।
स्थानीय तहको ऐनअनुसार माटो उत्खनन गर्न पालिकाबाट अनुमति लिनुपर्ने व्यवस्था रहे पनि नगौल क्षेत्रमा नियम विपरित उत्खनन भइरहेको हो । दिनदहाडै एक्साभेटरले खनेर टिपरमार्फत माटो ओसारपसार भइरहँदा पनि सम्बन्धित निकाय भने बेखबरजस्तै छ ।
वडा नम्बर ६ का वडा अध्यक्ष क्यामुदिन अन्सारी “जसको खेत हो, उसैले खेतीका लागि मिलाउँदैछ भन्ने मात्र सुनेको तर सार्वजनिक जमिनबाट माटो उत्खनन भइरहेकोबारे जानकारी छैन” भन्दै पन्छिन खोज्नुभएको छ ।
उता ,जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख मेयर राजन पौडेलले सुशासनको कुरा गरे पनि आफ्नै कार्यक्षेत्रअगाडि भइरहेको यस्तो गतिविधि नियन्त्रण गर्न नसकेको भन्दै स्थानीय स्तरमा आलोचना भइरहेको छ ।
स्थानीय समिम मियाले मेयर र वडा अध्यक्षकै मिलेमतोमा अवैध उत्खनन भइरहेको आरोप लगाउँदै “यदि मिलेमतो छैन भने किन रोक्न सकेनन ?” भन्दै प्रश्न उठाउनुभएको छ ।

घटनास्थलमा रहेको टिपरका एक चालकले माटो उत्खनन भइरहेको पुष्टि गरे पनि मालिकबारे जानकारी दिन अस्वीकार गरे । अनुमति लिएको छ कि छैन भन्नेबारे आफू अनभिज्ञ रहेको पनि उनले बताएका छन ।
स्थानीय सुरेश शाहले उपमहानगरपालिका कार्यालयले यस्तो अबैध कार्य रोक्न नसक्नु लज्जास्पद भएको बताउनुभयो । उहाँले उपमहानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको बेवास्ताका कारण सार्वजनिक र निजी जमिनको माटो अबैध रुपमा उत्खनन हुने गरेको बताउनुभयो ।त्यसैगरी अर्का स्थानीय युवा सन्तोष श्रेष्ठले देशका अन्य स्थानमा भ्रष्टाचार र अनियमिताा विरुद्ध कडाइ भए पनि जीतपुरसिमरामा त्यस्तो कार्यमा कुनै कमी नआएको बताउनुभयो ।
यस घटनाले स्थानीय सरकारको जिम्मेवारी र सुशासनप्रति गम्भीर प्रश्न उठाएको छ । अब यस विषयमा सम्बन्धित निकायले कस्तो कदम चाल्छ भन्ने प्रतीक्षा भइरहेको छ ।

Leave a Reply