पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले २०औं स्थापना दिवसको अवसरका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ ।२०६० सालमा स्थापना भएको संस्थाले कार्य क्षेत्रभित्रका ३ वटा आधारभुत विद्यालयका १९० जना छात्रछात्रालाई कपी, पेन्सील र ईलेजर वितरण गरेको संस्थाले जनाएको छ । संस्थाकी अध्यक्ष नयकला खड्काको अगुवाइमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ स्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय बडहर्वाका ९० जनालाई सामग्री वितरण गरिएको हो । यस्तै कलैया उपमहानगरपालिका वडा नम्बर १६ को सोननियास्थित आधारभुत विद्यालयमा ७८ जना र कलैया उपमहानगपालिकाकै वडा नम्बर २६ महेशपुरको राजदेवी क्लब आधारभुत विद्यालयमा १५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।आधारभुत विद्यालय बडहर्वामा आयोजित विशेष कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामाधार ठाकुरको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा रामरुकमीणि परोपकारी निजी गुठी काठमाण्डौंका स्थानीय गगनबहादुर आले, स्थानीय समाजसेवी गोपिकृष्ण खतिवडा, साना किसान कृषि सहकारी संस्थाका उपाध्यक्ष फूलकुमारी बस्नेत, संचालक आशा राना मगर, शर्मिष्ठाकुमारी दाहाल, चम्पा चौधरी, सवनम चौधरी र विद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।सहकारीले जीतपुरसिमरा र कलैया उपमहानगरपालिकाका एक दर्जन वडाहरुका ६ वटा सेवा केन्द्रमार्फत बचत संकलन, कृषि तथा साना उद्यम कर्जा लगानी असुली एवं दुग्ध संकलन तथा बिक्री र कृषि पसल संचालन गर्दै आएको छ ।४२ पुरुष सहित २ हजार ९२३ महिला सदस्य भएको संस्थाले करिब ६० करोडको बार्षिक करोबार गर्दै आएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । गत आर्थिक वर्षको मुनाफाबाट संस्थाले आफ्ना सदस्यहरुलाई १६ प्रतिशत शेयर लाभाशं वितरण समेत गरेको थियो ।विद्यालय सरसफाइ तथा निर्माण, स्थानीय मठमन्दिर निर्माण, गरिब विपन्न र सक्त विरामीलाई आर्थिक सहयोग गर्दै आएको संस्थाले सहकारीको सातौं सिद्धान्त समुदाय प्रतिको चासोको पालना गर्ने गरेको संस्थाकी उपाध्यक्ष फूलकुमारी बस्नेतले बताउनुभयो । यसै सिद्धान्तमा रहेर स्थानीय पीडित तथा राष्ट्रिय विपद्हरुकामा समेत आर्थिक सहायता गर्दै आएको उहाँले बताउनुभयो ।यस्तै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ स्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय बडहर्वाका ६० जनालाई स्वीटर वितरण गरिएको छ । रामरुकमी परोपकारी निजी गुठीले विपन्न छात्रछात्रालाई स्विटर प्रदान गरेको हो । गुठीका स्थानीय प्रतिनिधि गगनबहादुर आले मगरले छात्रछात्राहरुलाई स्वीटर वितरण गर्नुभएको थियो ।



















