सिमरा,नेपाली नारी मुक्ति आन्दोलनकी अभियन्ता, साहसी र निडर महिला योगमाया न्यौपानेको स्मृति दिवसको अवसरमा आइतवार सिमरामा ‘योगदान स्मरण’ कार्यक्रम आयोजना गरिएको छ ।समग्र उद्योग ट्रेड युनियन महासंघ नेपाल, केन्द्रीय महिला विभागले कार्यक्रमको आयोजना गरेको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा (एमाले) पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले स्व. योगमाया न्यौपानेको योगदानलाई स्मरण गर्दै उहाँको विद्रोही चेतना, महिला मुक्ति आन्दोलनमा देखाएको साहस र समर्पणको चर्चा गर्नुभएको थियो । योगमाया तत्कालिन नेपाली समाजमा व्याप्त अन्धविश्वास, छुवाछूत र लैङ्गिक विभेदविरुद्ध बोल्ने पहिलो विद्रोही नारी भएको उहाँले बताउनुभयो ।

कार्यक्रमका अन्य वक्ताहरूले योगमायाको सोच र योगदानलाई आजको सन्दर्भमा अझ बढी स्मरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँका विचार र संघर्षलाई नयाँ पुस्तामाझ पुर्याउन आग्रह गरेका छन् । कार्यक्रमले समाज परिवर्तन र न्यायको पक्षमा उठ्ने आवाजलाई प्रेरणा दिने उद्देश्य राखेको आयोजकको भनाई छ ।कार्यक्रममा एमाले प्रदेश कमिटी सचिव मनोज पौडेल, जिफन्ट मधेस प्रदेश अध्यक्ष कमलेश झा, समग्र उद्योग ट्रेड युनियन मधेस प्रदेश अध्यक्ष हेमराज न्यौपाने, नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटी अध्यक्ष त्रिलोकविक्रम शाह, मनोज चौधरी, सरु थापालगायतको उपस्थिति रहेको थियो ।अन्धविश्वास, छुवाछूत र लैङ्गिक विभेदविरुद्ध निरन्तर आवाज उठाउँदै आउनुभएकी योगमायाले वि.सं. १९९८ असार २२ गते अरुण नदीमा जलसमाधि लिनुभएको थियो । योगमायासंगै ६८ जनाले उक्त दिन अरुण नदीमा जलसमाधि लिएको बताइन्छ ।कार्यक्रम केन्द्रीय महिला विभाग सदस्य सम्झना लामाको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply