कलैया,बाराको कलैयामा आज गरिएको छड्के बजार अनुगमनका क्रममा दुई वटा मिठाई पसलेलाई जरिवाना गरिएको छ ।संयुक्त बजार अनुगमन समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईको नेतृत्वमा खटिएको टोलीले कलैयाका विभिन्न ७ वटा पसलमा छड्के अनुगमन गरेको थियो ।

सो क्रममा कलैया उपमहानगरपालिका– ६ बरियारपुर रोडस्थित माँ अन्नपूर्ण स्विट्स एन्ड बेकरीमा गुणस्तरहीन मःम, हाइड्रो तथा बिरयानी बनाउने सामग्री भेटिनुका साथै मूल्य सूची समेत नराखिएको पाइएपछि अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९(घ) बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।त्यसैगरी कलैया– ५ स्थित केसर स्विट्समा म्याद गुज्रिएको आइसक्रिम र मःम फेला परेपछि २० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा कलैया– ४ बरियारपुर रोडस्थित रोशन बाबु जेनेरल स्टोरमा म्याद गुज्रिएको खाने तेल फेला परेपछि उक्त तेल पसलअगाडि नै नष्ट गरिएको छ ।

यस्तै, कलैया– ४ बरियारपुर रोडस्थित नेपाल डेरी उद्योग, एक मासु पसल र अदालत रोडस्थित सत्या होटललाई आवश्यक कागजातसहित तिन दिनभित्र जिल्ला प्रशासन कार्यालय बारामा उपस्थित हुन अनुगमन टोलीले निर्देशन दिएको छ । कलैयाकै दुर्गा खाजा घरमा काटा (नापतौल) सम्बन्धी अनुमति पत्र नभएको पाइएपछि नापतौल कार्यालय वीरगञ्जमा तिन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ । नवल सेकुवामा मूल्य सूची नराखिएको पाइएपछि चेतावनी दिइएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख देवेन्द्र झा, जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत दिपेन्द्रप्रसाद यादव, प्रशासन शाखाका रत्न स्याङतान, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका आशुतोष कुशवाह, खाद्य प्रविधिका जित चौधरी, गुणस्तर कार्यालयका जोखन चौहान, उपभोक्ता अधिकार मञ्चका अरुण खनाल, जिल्ला प्रहरी कार्यालय बाराका प्रतिनिधि शिवशंकर साह तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

Leave a Reply