निजगढ,महेन्द्र राजमार्गको बागमती– पथलैया सडकखण्डको स्तरोन्नतिको काम शुरु हुने भएको छ ।
विश्व बैंकको ऋण सहयोगमा सञ्चालन हुने सो आयोजना अन्तर्गत कमला–ढल्केवर–पथलैया सडक स्तरोन्नति आयोजनाले बागमती–पथलैया खण्ड स्तरोन्नतिको काम पनि अन्तिम चरणमा पुगेको जनाएको छ ।सडक विस्तार तथा स्तरोन्नतिको काम अगाडि बढाउन आयोजना कार्यालयले स्थानीय तह र प्रभावित स्थानीयबीच सहमति जुटाउन मंगलबार निजगढमा आयोजना गरेको छलफल कार्यक्रममा बागमती– पथलैया खण्डको स्तरोन्नतिको लागि ठेक्का लगाउने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो ।
कार्यक्रममा सडक स्तरोन्नति आयोजनाको प्रगति, सडक सीमाभित्र रहेका संरचना व्यवस्थापन, प्रभावितको पुनर्वास तथा क्षतिपूर्तिसम्बन्धी विषयमा छलफल भएको थियो ।

आयोजनाले तयार गरेको पुनर्वास कार्ययोजना तथा स्थलगत प्रमाणीकरण प्रतिवेदन प्रस्तुत गर्दै आयोजना प्रमुख डा. छविलाल पौडेलले सडक विस्तारका क्रममा प्रभावित हुने व्यक्तिको पहिचान र व्यवस्थापन प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
छलफलपछि सडक सीमाभित्र रहेका घरटहरा तथा अन्य भौतिक संरचना हटाउने प्रक्रिया अन्तर्गत सडक सीमाभित्र बसोबास वा व्यापार व्यवसाय गर्दै आएका व्यक्तिहरूको विवरण संकलन र प्रमाणीकरण प्रक्रिया तत्काल अघि बढाउने निर्णय भएको छ । बैठकको निर्णयअनुसार सडक क्षेत्रभित्र व्यापार व्यवसाय गरी जीविकोपार्जन गर्दै आएका तर स्थायी बसोबासको संरचना नभएका व्यक्तिले स्वयं घोषणा गरी सम्बन्धित वडा कार्यालयमा आफ्नो विवरण पेश गर्नुपर्नेछ ।वडा कार्यालयले स्थानीयस्तरमा आवश्यक अध्ययन तथा प्रमाणीकरण गरी सिफारिससहित एक साताभित्र आयोजना कार्यालयमा विवरण पठाउने निर्णय गरिएको छ । यसरी प्रमाणीकरण भएर आएका व्यक्तिलाई प्रचलित नियमअनुसार राहत तथा क्षतिपूर्तिका लागि पहल गरिने जनाइएको छ ।

बैठकले सडक सीमाभित्र निर्माण गरिएका घर, टहरा, पसल तथा अन्य भौतिक संरचना सम्बन्धित व्यक्तिले आगामी जेठ मसान्तभित्र हटाएर सडक क्षेत्र खाली गर्नुपर्ने निर्णयसमेत गरेको छ ।आयोजनाले यसका लागि निजगढ नगरपालिका र सम्बन्धित वडा कार्यालयलाई औपचारिक अनुरोध गर्ने तथा वडा कार्यालयले एक साताभित्र आवश्यक सूचना तथा निर्देशन जारी गर्ने सहमति भएको छ ।

सडक विस्तारको क्रममा स्थानीयस्तरमा उत्पन्न हुनसक्ने विवाद, भौतिक संरचनाको क्षति तथा व्यवस्थापनका विषयमा आयोजना, वडा कार्यालय र स्थानीयबीच निरन्तर समन्वय र छलफल गर्ने पनि बैठकले निर्णय गरेको छ ।योजनाको काम प्रभावकारी रूपमा सम्पन्न गर्न सबै पक्षले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको निजगढ नगरपालिकाका इन्जिनियर नविन खनालले जानकारी दिनुभयो ।निजगढ नगरपालिका– ९ स्थित नेपाल रेडक्रस कार्यालयमा आयोजित बैठकमा आयोजना प्रमुख डा. पौडेल, निजगढ नगरपालिका वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर लामा, वडा नम्बर ८ का अध्यक्ष स्वर्ण लामा, वडा नम्बर ९ का अध्यक्ष रामचन्द्र कटुवाल, नगरपालिकाका इन्जिनियर नविन खनाल, आयोजनाका इन्जिनियर रञ्जित साहलगायत प्रभावित क्षेत्रमा स्थानीयको सहभागिता रहेको थियो ।आयोजना अन्तर्गत हाल कमलादेखि सर्लाहीको बागमती पुलसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

Leave a Reply