निजगढ,निजगढ निजगढ नगरपालिका– ४ मा यस वर्ष २०८३ सालको वैशाख ३ गते कछडिया समुदायले परम्परागत कुलपूजा आयोजना गर्ने भएका छन । ब्राह्मणस्थान मन्दिर समितिको हिजो बसेको बैठकले कुलपूजा मनाउने निर्णय गरेको हो । पुरानो निजगढस्थित ब्राह्मणस्थान मन्दिरमा आयोजना हुने उक्त पूजाको सम्पूर्ण तयारी सुरु गरिएको समितिले जनाएको छ ।

समितिका अनुसार प्राचीन कालदेखि निरन्तर रूपमा मनाउँदै आइएको कुलपूजाले स्थानीय धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई जगेर्ना गर्दै आएको छ । विशेषगरी कछडियो तथा थारु समुदायको मुख्य धार्मिक परम्पराका रूपमा स्थापित यस पूजाले समयसँगै सम्पूर्ण टोलवासीलाई एकतद्ध बनाउने साझा पर्वको रूप लिएको छ ।

कुलपूजामा आ–आफ्नो कुलदेवताको स्मरण गर्दै विधिपूर्वक पूजा–अर्चना गरिन्छ । यस अवसरमा परम्परागत भाकल, बलि (कतिपय स्थानमा प्रतीकात्मक), प्रसाद वितरण तथा सामूहिक पूजा विधि सम्पन्न गरिने चलन रहेको समितिका एक सदस्यले बताएका छन् ।
पूजामा सहभागीहरूले आफ्नो कुल, परम्परा र पूर्वजप्रति श्रद्धा अर्पण गर्नुका साथै आगामी दिनहरू सुख, शान्ति र समृद्धिको कामना गर्ने गर्छन् । स्थानीय बासिन्दाका अनुसार कुलपूजा केवल धार्मिक अनुष्ठान मात्र नभई सामाजिक एकता र सांस्कृतिक संरक्षणको महत्वपूर्ण माध्यम पनि हो ।

यसले पुस्तौँदेखि चल्दै आएको परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने अवसर प्रदान गर्नुका साथै समुदायबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउने काम गर्दछ । ब्राह्मणस्थान मन्दिर परिसरमा आयोजना हुने यस कार्यक्रमले गाउँघरमा उत्सवको माहोल सिर्जना गर्ने अपेक्षा आयोजकले गरेका छन् ।

पूजाका अवसरमा टोलभरिका घरपरिवार एकत्रित भई सरसफाइ, सजावट तथा व्यवस्थापनमा जुट्ने परम्परा रहेको छ । समितिले सबै श्रद्धालु तथा टोलवासीलाई उपस्थित भई धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस कुलपूजालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न आग्रह गरेको छ ।साथै, यस्ता परम्परागत पर्वहरूले मौलिक संस्कृति संरक्षण र पहिचान जोगाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ

Leave a Reply