वीरगञ्ज, २६ कात्तिक । जिल्लामा मिटरब्याज (अनुचित लेनदेन) विरुद्धको अभियान अन्तर्गत अहिलेसम्म १ हजार ६९७ उजुरी मेलमिलापको माध्यमबाट टुंग्याइएको छ। जिल्लाभरिबाट प्राप्त २ हजार ३६७ उजुरी मध्ये ६३५ उजुरी अझै फछ्र्योट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।

प्रवक्ता बस्नेतका अनुसार, मेलमिलापबाट टुंग्याइएका उजुरीका क्रममा कुल बिगो २९ करोड १२ लाख ८५ हजार ५९७ रुपैयाँ बराबरको रकम फिर्ता गराइएको छ। साथै, ४० बिघा १५ कट्ठा १९ धुर जग्गा समेत साहुकारले पीडितलाई फिर्ता दिएका छन्।

मिटरब्याज सम्बन्धी उजुरीहरूमा प्रहरी, जिल्ला प्रशासन र स्थानीय निकायको संयोजनमा बनाइएका मिटरब्याज पीडित निस्तारण समितिले अनुसन्धान र मेलमिलापका कार्यहरू अगाडि बढाइरहेको छ।

मिटरब्याजविरुद्ध सक्रिय किसान मजदुर आन्दोलनका सचिव शम्भुप्रसाद यादवले भने, “रु एक लाखको ऋण दिएर रु तीन लाखसम्मको तमसुक बनाउने साहुकारहरूको प्रवृत्ति अझै पनि हटेको छैन। अझै पनि धेरै वास्तविक मिटरब्याजपीडितले न्याय पाउन सकेका छैनन्,” उनले असन्तुष्टि व्यक्त गरे।

पोखरिया नगरपालिकाका कनैयाप्रसाद यादवले पनि पाँच वर्षअघि रु एक लाख १० हजार ऋण लिँदा साहुकारले रु तीन लाख ३० हजारको तमसुक बनाएको आरोप लगाए। “सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न अझ गम्भीर हुनुपर्छ,” उनले भने।

सरकारले हाल मिटरब्याज नियन्त्रणका लागि कानुनी कारबाहीसँगै सम्झौता र मेलमिलाप केन्द्रित अभियान चलाइरहेको छ। प्रहरीका अनुसार, धेरै उजुरीहरूमा साहुकारहरूले रकम असुलीका नाममा तमसुक, जग्गा, र घरजग्गा कब्जा गर्ने गरेको पाइएको छ।

स्थानीय प्रशासनले चेतावनी दिँदै भनेको छ, “मिटरब्याजमा संलग्न जो कोहीमाथि कानुनी कारबाही हुनेछ, पीडितले डर बिना उजुरी गर्न सक्ने वातावरण बनाइएको छ।” यसरी पर्सामा चलिरहेको अभियानले धेरै पीडितहरूलाई राहत दिलाएको भए पनि, अझै सयौं उजुरी बाँकी रहँदा मिटरब्याज समस्या पूर्णरूपमा अन्त्य हुन भने केही समय लाग्ने देखिन्छ।

Leave a Reply