निजगढ,प्रहरी दिवसको अवसरमा जिल्ला ट्राफिक कार्यालय बाराले आइतबार बिहान निजगढमा प्रभातफेरीसहित तपाईको मास्क खोइ ? कार्यक्रम आयोजना गरेको छ ।

समुदाय– प्रहरी साझेदारी कार्यक्रमअन्तरगत आयोजना गरिएको सो कार्यक्रममा सर्वसाधारणलाई मास्कको प्रयोग गर्नेबारे जनचेतामूलक सन्देश प्रशारण गरिनुको साथै निशुल्क मास्क समेत वितरण गरिएको थियो । त्यसैगरी माइकिङ्गमार्फत सडक दुर्घटनाबाट जोगिन पनि सर्वसाधारणलाई सचेत गराइएको थियो ।

बिहान ८ बजे शुरु भएको प्रभातफेरी पूर्वपश्चिम लोकमार्गको बुद्धचोकबाट शहीद चोकमा आएर समापन गरिएको थियो । कार्यक्रममा स्थानीय व्यवसायी, समाजेवी, राजनितिक दलका नेता कार्यकर्ता, सुरक्षाकर्मी र संचारकर्मीहरुको समेत सहभागिता रहेको थियो । समापन कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक कार्यालय निजगढका प्रहरी निरीक्षक बिपिन ओझाले कोरोना महामारीको जोखिम अझै कायम रहेकोले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने बताउनुभयो ।

 

यसैबीच जिल्ला प्रहरी कार्यालय बाराले ६६ औं प्रहरी दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।

प्रहरी दिवसको अवसरमा ‘एक प्रहरी एक बिरूवा अभियान’ अन्तर्गत जिल्ला प्रहरी कार्यालयले कलैया उपमहानगरपालिका वडा नम्बर ३ स्थित राम मन्दिर परिसरमा वृक्षारोपन गरिएको हो । त्यसैगरी ईलाका प्रहरी कार्यलय कोल्हबीमा पनि विभिन्न प्रजातिका बोटबिरुवा रोपेर मनाइएको छ ।

वृक्षारोपन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख दिपेन्द्र शाही, प्रहरी नायब उपरीक्षक गौतम मिश्रलगायत प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो । ६६ औ प्रहरी दिवसमा मातहतका युनिटहरुले पनि कार्यालय परिसरमा बिभिन्न जातका फलफूललगायत अन्य जातका बिरुवाहरु रोपेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here