सिमरा,मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) ले आफ्नो २६औँ स्थापना दिवसको अवसरमा बारामा आइतवार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको बकुलियामा “नागरिक समाजको भूमिका“ विषयमा सरोकारवालाहरूबीच छलफल कार्यक्रम आयोजना भएको हो ।
कार्यक्रममा बोल्दै मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरीले मानव अधिकार संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेलले एमालेका नेता र कार्यकर्ताले कुनै पनि हिंसात्मक कार्य गर्न नहुने उल्लेख गर्नुभयो । उहाँले यस्तो कार्य गर्ने जुनसुकै तहका नेता वा कार्यकर्ता भए पनि पार्टीले कारबाही गर्ने स्पष्ट पार्नुभएको थियो ।पौडेलले गलत गर्ने जोसुकैलाई पनि पार्टीले संरक्षण नगर्ने बताउँदै मानव अधिकार हनन हुन नदिन सबै सजग र सचेत रहनुपर्नेमा जोड दिनुभएको थियो ।कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ की अध्यक्ष तथा एमाले मधेस प्रदेश कमिटी सदस्य चयन गुरुङ, इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशी, एमाले नगर कमिटीका अध्यक्ष त्रिलोकविक्रम शाह, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, जनकल्याण साकोसकी अध्यक्ष कमला घिमिरेलगायतले मानव अधिकार एलायन्सको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।मानव अधिकार एलायन्स बारा जिल्ला कमिटी अध्यक्ष शान्ताकुमारी बजगाई (रिना) को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सहजीकरण कुबेर न्यौपानेले गर्नुभएको थियो भने रुस्तम अन्सारीले स्वागत मन्तव्य दिनुभएको थियो ।

















