निजगढ,निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले बालबालिकाहरुमा देखापर्ने आँखा सम्बन्धि समस्याको चेकजाँच गराउन सचेतनामूलक कार्यक्रम शुरु गरेको छ ।निजगढ नगरपालिकाको सहकार्यमा तिलगंगाले निजगढका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुमा एमलायोेपिया अर्थात् ‘अल्छि आँखा’ सम्बन्धि समस्याको निदान गर्ने उद्देश्यले पहिलो चरणमा विद्यालयहरुमा सचेतनामूलक पोष्टर टाँस्ने अभियान शुरु गरेको हो ।
प्रशासनका प्रमुख सुधिर श्रेष्ठले अभियान अन्तर्गत नगरका सबै विद्यालयहरुमा अध्ययन गर्ने बालबालिकाहरुमा एमलायोेपिया ‘अल्छि आँखा’ सम्बन्धि जाँच गराएर आँखा सम्बन्धि समस्या निराकरण गर्न कार्यक्रम शुरु गरिएको बताउनुभयो ।
पहिलो चरणमा पर्चा पम्प्लेटमार्फत एमलायोेपिया सम्बन्धि समस्याको जानकारी गराएर अभिभावक, विद्यार्थी र शिक्षकहरुलाई आँखा परीक्षणको लागि प्रेरित गरिने उहाँको भनाई छ । दोस्रो चरणमा अस्पतालको टोली विद्यालयहरुमै पुगेर विद्यार्थीहरुको आँखा परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । ‘धेरै विद्यार्थीहरुमा आँखासम्बन्धि समस्या हुनसक्छ, उहाँले भन्नुभयो, तर परीक्षणको अभावमा यसको पहिचान हुन सकेको छैन ।’
लबालिकाहरुमा देखिने दृष्टिदोष सम्बन्धि समस्या हल गर्न सचेतनामूलक कार्यक्रमले मद्दत पुग्ने उहाँको भनाई छ ।
अस्पतालका प्रमुख डा. विष्णुहरी मरहट्टाले बालबालिकाहरुमा एमलायोेपिया सम्बन्धि समस्या विश्वव्यापी रुपमा बढ्दै गएको र यसको निराकरणको लागि सबै चनाखो बन्नुपर्ने बेला आएको बताउनुभयो ।
उहाँका अनुसार एमलायोेपिया भएका बालबालिका वा विद्यार्थीमा कक्षा कोठाको बोर्डमा लेखेको कुरा बुझ्न गा¥हो हुने, हिड्दा ठोकिएर पटक–पटक लडिराख्ने, टीभी, किताब, कापी र मोबाइल आँखा नजिकै लगेर हेर्ने, अतिरिक्त क्रियाकलापमा सहभागी नहुने, आँखा सानो बनाएर वा खुम्चाएर हेर्ने वा बेला–बेलामा टाउको बाङ्गो गरेर हेर्ने, आँखा धेरै मिच्ने र टाउको दुखीराख्ने जस्ता समस्या देखा पर्ने गर्छन । ‘बारम्बार यस्ता समस्या देखापरे भने यो दृष्टिदोषको लक्षण हो, चिकित्सक मरहठ्ठाले भन्नुभयो, यस्तो अवस्थामा बालबालिकाले नजिकको देख्ने तर टाढाको धमिलो देख्ने वा नदेख्ने हुनसक्छ ।’
उहाँले यो समस्या निराकरणको लागि आँखा जाँच गरी चश्माको प्रयोग वा अन्य उपचार गर्नुपर्ने पनि बताउनुभयो । समयमा नै उपचार गरी चश्मा लगाए एमलायोेपिया अर्थात् ‘अल्छि आँखा’ समस्याबाट बालबालिकालाई जोगाउन सकिने उहाँको भनाई छ ।सामान्य स्वस्थ आँखाले जस्तो काम नगर्ने आँखालाई ‘अल्छि आँखा’ भनिने उहाँले जानकारी दिनुभयो । १० वर्षसम्मको उमेरभित्र नै यो रोगको उपचार गर्नुपर्ने उहाँको भनाई छ ।


















