कलैया,महागढीमाई नगरपालिकाको बरियारपुरमा ४ दिनअघि भएको भारतीय नागरिकको हत्या उनकै आफन्तको योजनामा भएको रहस्य खुलेको छ । भारत बिहारका ४५ वर्षिय शिवपुजन राय यादवको हत्या उनका काकाका छोरा दिनेश यादवको योजनामा भएको बारा प्रहरीले खुलासा गरेको हो । शिवपुजनको पुस ८ गते बाराको भुतही पुल नजिकै गोली हानी हत्या भएको थियो ।प्रहरीले अनुसन्धानको क्रममा घटना भएकै दिन केहि व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । त्यसक्रममा शिवपुजनको हत्या उनका काकाको छोरा दिनेशको योजनामा भएको पत्ता लागेको प्रहरीले जनाएको छ । दिनेशले आफ्ना दाइ रमेशको हत्याको बदला लिन शिवपुजनको हत्या योजना बनाएको प्रहरीको निष्कर्ष छ । उनले प्रमोद राम नामका अर्का भारतीयमार्फत सुटरको प्रयोग गरेर शिवपुजनको हत्या गरेको प्रहरीले बताएको छ ।प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका रामलाई सोमवार सार्वजनिक गरेको छ । भारत बिहारको मोतिहारी जिल्ला अन्र्तगत पर्ने घोडासहन थाना सेखावना ग्राम पञ्चायत वडा नं. १ सेखावना टोल बस्ने ३८ वर्षीय उनलाई जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।घटना भएको दिन पुस ८ गते बिहान पनि प्रमोदले मृतक शिवपुजनलाई पटक पटक फोन गरेको पाइएको प्रहरीले जनाएको छ । प्रमोदको उता सुटरसँग पनि पटक पटक फोनमा कुरा भएको कल विवरणबाट प्रहरीले पत्ता लगाएको छ ।घटनाको दिन दिउँसो ४ः२० बजे प्रमोदले शिवपुजनलाई फोन गरे लगत्तै सुटरलाई फोन गरेर भुतही चोकको लोकेसन दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अभियुक्त प्रमोद विरुद्ध पनि मोतिहारी थाना लगायत भारतका विभिन्न थानामा अपहरण लगायत ३ वटा मुद्दा दर्ता रहेको प्रहरी स्रोतको दावी छ ।गोली लागेर गम्भीर घाइते भएका शिवपुजनको उपचारकोलागि वीरगन्ज लगिएपछि उनको अवस्था बारे बुझ्न प्रमोद पनि अस्पतालमा पुगेको र सोही क्रममा शंका लागेर प्रहरीले उनलाई अस्पताल परिशरबाटै पक्राउ गरेको हो । घाइते शिवपुजनको मृत्यु भयो कि भएन भनेर हेर्न उनी अस्पताल पुगेको प्रहरीको भनाइ छ । घटनाका मुख्य योजनाकार दिनेश र सुटरलगायतका अभियुक्त अझै फरार छन् ।मृतकका आफन्तले ६ जना विरुद्ध किटानी जाहेरी दिएका छन् । जसमध्ये ५ जना घटनामा प्रत्यक्ष संलग्न रहेको प्रहरीको भनाइ छ । घटनामा संलग्न व्यक्तिहरुको मोबाइल नम्बर पहिचान गरेर भारतीय प्रहरीसँग समन्वय गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रहरी स्रोतले दिएको जानकारी अनुसार शिवपुजनले गत अप्रिलमा काकाका छोरा रमेश यादवको गोली हानेर हत्या गरेका थिए । भारत मोतिहारीको छौडादानो ग्राम पञ्चायतका उपप्रमुख समेत रहेका रमेशलाई जग्गा सम्बन्धी विवादका क्रममा शिवपुजनले गोली हानेको बताइन्छ ।जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले प्रमोदले सूचना संकलन गरेर सुटरलाई गोली हान्न सघाएको दावी गर्नुभएको छ ।

Leave a Reply