निजगढ,निजगढ नगरपालिकाले संचालन गरेको पाँचौ राष्ट्रपति रनिङ्ग सिल्ड खेलकुद प्रतियोगिताको ट्रफी निजगढ ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ ।
शुक्रवार सम्पन्न प्रतियोगितामा २९ स्वर्ण सहित ५८ वटा पदक जितेर गौरीशंकरले प्रतियोगिताको ट्रफी हात पारेको हो । गौरीशंकरले १९ रजत र १० कास्य पदक जितेको छ । निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले प्रतियोगितामा विजयी गौरीशंकर माविका प्रधानाध्यापक बद्रीनारायण झा र खेलाडीहरुलाई ट्रफी र मेडल प्रदान गर्नुभएको थियो ।

त्यसैगरी निजगढ ६ को गौरीशंकर मावि सडकटोलले १८ पदक जितेर प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको छ भने निजगढ ५ को सार्वजनिक मावि ३ स्वर्णसहित १५ पदकसहित तृतीय भएको छ । गौरीशंकर सडकटोलले ६ स्वर्ण, ५ रजत र ७ कास्य पदक हात पारेको हो ।
सार्वजनिक माविले भने ५ रजत र ७ कास्यसहित जितेको छ । त्यस्तै निजगढ ७ को नेत्रोदय माविले ३ स्वर्ण र ३ रजत पदक जितेको छ भने निजगढ ७ कै विद्यासागर इङ्गलिस बोडिङ्ग स्कुलले १ स्वर्ण र १ रजत पदक पाएको छ ।प्रतियोगितामा सहभागी नेरामावि निजगढ– ११ रतनपुर, निजगढ ८ को बकैया ठाकुर मावि, निजगढ १० को नेरामावि लाल, नेरामावि निजगढ– १ सिंगौल, निजगढ ९ को होली एन्जल्स इङ्गलिस बोडिङ्ग स्कुल, निजगढ ४ को जनकल्याण आवि, निजगढ ९ को जनज्योति आविले स्वर्ण पदक हात पार्न सफल भएनन । बकैया ठाकुरले ६ रजत र ४ कास्य, रतनपुरले ४ रजत र ४ कास्य, लालले ३ रजत र ९ कास्य, सिंगौलले ३ रजत, ४ कास्य, होली एन्जल्स स्कुलले १ रजत र ४ कास्य, जनकल्याण आविले १ रजत र ३ कास्य पदक जितेका छन ।
त्यस्तै प्रतियोगितामा जनज्योति आवि ठाडोलाइनले १ रजत पदकमै चित्त बुझाएको छ । निजगढ ४ को नेराआविले भने कुनै पनि पदक हात पार्न सकेन ।निजगढ नगर नगरकार्यपालिकाको आयोजनामा निजगढ ९ स्थित सहिद हिरालाल रङ्गशालाको खेल मैदानमा भएको प्रतियोगिता भलिबल, कबड्डी र एथलेटिक्स र तेक्वान्दोमा नगरका विभिन्न विद्यालयका छात्रछात्राहरुबीच प्रतिस्पर्धा गराइएको निजगढ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उत्तम लामिछानेले जानकारी दिनुभयो ।



















