वीरगन्ज,मंसिर ४ गते हुने निर्वाचनको नतिजा आफ्नो हातमा पार्न नेकपा एमाले पर्साले सक्रियता बढाएको छ ।
आइतवार सम्पन्न नेकपा एमाले पर्साको सचिवालय बैठकले पार्टीको सबै शक्ति निर्वाचनमा केन्द्रित हुन निर्देशन दिँदै तदारुकताका साथ जनताको माझ जाने बारेमा छलफल भएको हो ।
नेकपा एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुको अध्यक्षतामा सम्पन्न बैठकले ४ वटै र्निाचन क्षेत्र र ८ वटै प्रदेश क्षेत्रमा निर्वाचन परिचालन समन्वय समिति गठन गरेको छ । निर्वाचन परिचालन समितिलाई आ–आफ्नो क्षेत्रमा संगठनलाई सशक्त बनाउने र उम्मेदवारको आन्तरिक गृहकार्यमा जुट्न समेत निर्देशन दिइएको छ ।
भाद्र मसान्तभित्र पार्टीको प्रशिक्षण, चुनावी समिक्षा गर्ने निर्णय गर्दै जिल्लामा पार्टीको आर्थिक अवस्था, हालसम्म उठेको चन्दा, लेबी, सदस्य शुल्क, जनप्रतिनिधिले दिएको लेबी र निर्वाचनमा आएको सहयोगको छानबिन गर्न सचिवालय सदस्य श्याम बन्जाराको संयोजकत्वमा छानबिन समिति समेत गठन गरिएको छ ।
उक्त समितिमा सचिवालय सदस्य लालबाबु शेष र प्रताप श्रेष्ठ पनि रहेका छन् । बैठकमा केन्द्रीय सदस्य तथा पर्साका सहइन्चार्ज राजकुमार गुप्ताले पार्टीलाई निर्वाचन केन्द्रीत बनाउन सबै एक भएर लाग्नुपर्ने धारणा राख्नुभएको थियो ।
बैठकमा केन्द्रीय सल्लाहाकारहरु कदम रसुल अन्सारी, ठाकुर न्यौपाने, शम्भु गुप्ता, बलिराम साह, बसरुद्धिन अन्सारी, जालिम मियाँ, नवराज शर्मा, बाबुराम कौशिक, उषमान अन्सारी, हिरालाल साह, बिना शर्मा, मेघराज पासवान, जोगेन्द्र साह, तेजप्रकाश निषाद लगायतको सहभागिता रहेको थियो ।