कलैया,बारा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार ज्वालाकुमारी साहको चुनावी पोस्टरमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले ‘स्टीकर’ टाँसेको आरोप लगाइएको छ ।

एमाले क्षेत्रीय कमिटीका सदस्य हरिदेव खरेलका अनुसार निर्वाचन प्रचारका क्रममा जीतपुरसिमरा वडा नम्बर १६ महेन्द्रनगरको एक घरमा टाँसिएको नेकपा एमालेकी उम्मेदवार साहको फोटो सहितको पोष्टरमाथि रास्वपाका कार्यकर्ताहरुले आफ्नो पार्टीको चुनाव चिह्न ‘घण्टी’ को स्टीकर टाँसेको एमाले कार्यकर्ताहरुको आरोप छ । एमालेले सो क्षेत्रमा टाँसिएका झण्डै १ भन्दा बढी पोष्टरहरु च्यातिएको पनि जनाएको छ । एमालेका अनुसार शुक्रवार राति पोष्टर च्यातिएको र घण्टीको स्टिकर टाँसिएको हो ।
यसलाई अराजक कार्य भन्दै चुनावी आचारसंहिताको धज्जी उडाएको र स्वस्थ प्रतिस्पर्धाको वातावरण बिगारेको एमालेले बताएको छ ।

यता सो क्षेत्रबाट रास्वपाका उम्मेदवार इन्जिनियर अरविन्द साहले भने उक्त आरोपको खण्डन गर्नुभएको छ । उहाँले आफ्नो पार्टीका कार्यकर्ताहरू यस्तो अस्वस्थ गतिविधिमा संलग्न नरहेको स्पष्ट पार्नुभएको छ ।
पार्टी–पार्टीबीच विवाद सिर्जना गरी द्वन्द्व गराएर चुनाव भाँड्ने कार्य नगर्न तथा अनावश्यक हल्लाको पछि नलाग्न उहाँले आग्रह गर्नुभएको छ । उहाँले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अन्य दलहरूलाई पनि संयम रहन आग्रह गर्नुभएको छ ।

Leave a Reply