कलैया,बारा प्रहरीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट लुगा सिलाउने मेसिन र कपडा बरामद गरेको छ ।प्रहरीले जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ५ दरबारटोलस्थित एक घरबाट प्रहरीले तीन लाख ६४ हजार रुपैयाँ मूल्य बराबरका लुगा सिलाउने २८ थान नयाँ मेसिन बरामद गरेको हो।जिल्ला प्रहरी कार्यालय बारा र अस्थायी प्रहरी पोस्ट बसपार्क कलैयाबाट प्रहरी नायब निरीक्षक मेघराजप्रसाद साहको कमाण्डमा खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा छापा मारेको थियो।

प्रहरीका अनुसार सिलाई मेसिन विभिन्न कम्पनीका नयाँ भए पनि बिल–भरपाई नभएको अवस्थामा पाइएको हो। उक्त मेसिन ५० वर्षीय नैमुदिन अंसारीको तीनतले पक्की घरको भुइँतलामा रहेको सटरभित्र लुकाइएको अवस्थामा फेला पारिएको थियो।प्रहरीले सिलाई मेसिनसहित कलैया उपमहानगरपालिका १६ बस्ने ३० वर्षीय कलिम अंसारीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
त्यसैगरी प्रहरीले विश्रामपुरबाट चार लाख ४२ हजार मूल्य बराबरको भन्सार छलि नेपाल भित्राइएको कपडा तथा एक टेम्पुलाई आइतवार नियन्त्रणमा लिएको छ।ईलाका प्रहरी कार्यालय प्रसौनी बाराको प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा रहेको टोलीले टेम्पु र कपडा नियन्त्रणमा लिएको हो।बारा जिल्लाको बिश्रामपुर गाउँपालिक वडा नम्बर ५ नकटुवास्थित मटिअर्वाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना २ ह ५६७६ नम्बरको टेम्पुलाई जाँच गर्दा भन्सार चोरी पैठारी गरी ल्याइरहेको कपडा बरामद गरेको हो।
बरामद भएको कपडामा लेडिज भेष्ट ४० पिस, लेडिज कुर्ता सुट २६ पिस, तन्ना कपडा १६० मिटर, पुरूषले लगाउने धोति कपडा ९ पिस, गम्छा–२० पिस,सुट कपडा ८६ मिटर बरामद गरिएको बाराका प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभएको छ ।उहाँका अनुसार ना २ ह ५६७६ नं.को टेम्पुको मूल्य दुई लाख ५० हजार गरी चार लाख ४२ हजार रुपैयाँ बराबरको सामानहरू नियन्त्रणमा लिएको हो। टेम्पु चालक फरार रहेको र खोजतलास कार्य भइरहेको प्रवक्ता पण्डितले जानकारी दिनुभयो ।



















