निजगढ,निजगढ खेलकुद विकास समितिको आयोजनामा आजबाट दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटवल प्रतियोगिता शुरु भएको छ ।प्रतियोगिताको निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले एक कार्यक्रमबीच उद्धाटन गर्नुभएको हो । उद्धघाटन गर्दै नगरप्रमुुख पुुरीले प्रतियोगिताको धनराशी थोरै भएपनि निजगढमा खेलाडी उत्पादन र स्व. विकल रेग्मीको सपना साकार पार्न मद्दत गर्ने बताउनुभयो । उहाँले अनुुशासनलाई ध्यानमा राखेर खेल्न पनि नगरप्रमुख पुुरीले खेलाडीहरुसंग आग्रह गर्नुभएको थियो ।
उद्धाटन खेलमा निजगढ वडा नम्बर १३ को टोली विजयी भएको छ । वडा नम्बर १३ ले वडा नम्बर ५ लाई सडन डेथमा ४-३ गोल अन्तरमा पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुबै टोली १-१ गोलमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । वडा नम्बर १३ का प्रितम लामाले पहिलो हाफको १३औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । वडा नं. ५ का सुजल वलले दोस्रो हाफको ८औं मिनेटमा गोल फर्र्काएर बराबरी गरेपछि भएको टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथबाट निर्णय लिनुपरेको थियो ।

प्रतियोगिताको म्यान अफ दि म्याच वडा नं. १३ का प्रतिम लामा घोषित भए । उनलाई विकल रेग्मीकी आमा कमला रेग्मीले ट्रफी प्रदान गर्नुभएको थियो ।प्रतियोगिताको विजेता टोलीले ८० हजार नगद पुुरस्कार र ट्रफी तथा उपविजेता टोलीले ५० हजार नगद पुुरस्कार प्राप्त गर्नेछन ।

त्यसैगरी प्रत्येक खेलमा म्यान अफ दि म्याच, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्कोरर, उत्कृष्ट खेलाडी, राईजिङ्ग प्लेयरलाई पनि पुुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जनाएको छ ।अघिल्लो स्करणमा विजेता टोलीलाई नगद पुुरस्कार ५१ हजार र उपविजेतालाई ३१ हजार पुरस्कार व्यवस्था भएकोमा यस वर्षबाट धन राशी वृद्धि गरिएको हो । निजगढ फुटवल क्लबको व्यवस्थापनमा निजगढ नगरमा ग्रासरुटका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको निजगढ नपाका शिक्षा अधिकृत उत्तम लामिछानेले जानकारी दिनुभयो ।

मकवानपुरको ईन्द्रसरोवर गाउपालिका ३ सिस्नेरीस्थित वत्सलादेवी माविमा अखिल नेपाल फुटवल संघ (एन्फा) द्धारा सञ्चालित एन्फा एकाडेमीमा प्रशिक्षण लिने क्रममा गत २०८१ असोज पहिलो साता सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका निजगढ ७ का रेग्मीको स्मृतिमा नगरपालिकाले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दैआएको छ । पहिरोमा परेर रेग्मीसहित एन्फाका ६ जना खेलाडीको ज्यान गएको थियो ।

Leave a Reply