नरेश गुप्ता,जिल्ला प्रहरी कार्यालय बारामा महिला हिंसाका मुद्दाहरु सबैभन्दा बढी आउने गरेको छ । जिल्ला प्रहरी कार्यालयमा महिला हिंसासंग सम्बन्धित मुद्दा लिएर आउनेको संख्या सबैभन्दा बढी रहेको जिप्रकाका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

प्रदेश नम्बर २ को सर्लाही, सिरहा र लुम्बिनी प्रदेशको नवलपरासीलगायत जिल्लामा सेवामा अनुभव बटुल्दै हालैमात्र जिप्रका बारामा सरुवा भइ आउनुभएका प्रहरी नायब उपरीक्षक थापाले प्रदेश नम्बर २ का अन्य जिल्ला प्रहरी कार्यालयमा पनि महिला सम्बन्धि उजुरी नै बढी आउने गरेको बताउनुभयो । उहाँका अनुसार महिलासंग सम्बन्धित झैझगडा, बलात्कार, जबर्जस्ती करणीका प्रयास, घरबाट निकाला, खानलाउन नदिइएको, बहुविवाह जस्ता घटनाका उजुरी बढी आउने गरेको जानकारी दिनुभयो ।
कानुनले स्थानीय तहमा रहेको न्यायिक समितिमार्फत यस्ता मुद्दाहरुको सुनुवाइ गर्ने व्यवस्था गरेको भएपनि पीडितहरु उजुरी लिएर प्रहरी कार्यालयमा नै आउने गरेको प्रवक्ता थापाले जानकारी दिनुभयो । न्यायिक समितिले पक्षपातपूर्ण निर्णय गर्ने र दोषिलाई कारबाहीको साटो आग्रह÷पूर्वाग्रहका आधारमा उन्मुक्ति दिने गरेकोले पीडितहरु सिधै प्रहरी कार्यालयमा नै आउने गरेको उहाँको भनाइ छ । प्रचलित कानुनले कुटपिट, दुव्र्यबहार, घरबाट निकाला, खान लाउन नदिने जस्ता मुद्दाहरुमा छलफल गरेर टुङ्गयाउने अधिकार स्थानीय तहलाई दिएको भएपनि महिला सम्बन्धी अधिकांश उजुरी जिल्ला प्रहरीमै आउने गरेको उहाँले सुनाउनुभयो ।
आर्थिक वर्ष ०७७,०७८ को असार मसान्तसम्म जिल्लाको कलैया उपमहानगरपालिकाबाट २ सय ४३ वटा अपराधका घटना दर्ता रहेको प्रहरी थापाले जानकारी गराउनुभयो । त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाबाट १ सय ७७, निजगढ नगरपालिकाबाट ६९ र महागढीमाई नगरपालिकाबाट विभिन्न अपराधका ८३ वटा घटनामा उजुरी पर्न आएको जिल्ला प्रहरी कार्यलय बाराको तथ्यांकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यलय अन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा महिला सम्बन्धि दैनिक २० वटाभन्दा बढी मुद्दा दर्ता हुदै आएको प्रहरी प्रवक्ता थापाले बताउनुभयो । उहाँले कार्यालयमा महिला सम्बन्धि मुद्दाको चाप बढेपछि अहिले त्यस्ता मुद्दालाई सम्बन्धित पालिकामा रहेका मातहतको प्रहरी युनिटमा फर्काउने गरिएको र त्यहाँ पनि समाधान नभएको खण्डमामात्र जिल्ला प्रहरी कार्यालयले हेर्ने व्यवस्था मिलाइएको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

















