निर्वाचन आयोगले आगामी फागुन ३ गतेभित्र सबै राजनीतिक दलहरुले आगामी फागुन २१ गतेका लागि तोकिएको चुनावका लागि लक्षित गरी घोषणा पत्र सार्वजनिक गर्न भनेको छ ।केही राजनीतिक दलले घोषणा पत्र पनि सार्वजनिक गरेका छन् भने केहीले सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । राजनीतिक दलले ल्याउने घोषणा पत्र कस्तो होला भनेर केही अगाडिसम्म मतदातामा कौतुुहला पनि हुने गर्दथ्यो तर अहिले समय फेरिएको छ । राजनीतिक दलको घोषणा पत्रमा आम मतदाताहरुको बिलकुल रुचि छैन । नयाँ होस् या पुराना दलले ल्याउने घोषणा पत्र भनेको मतदातामैत्री हुने विश्वास कम छ ।

त्यसैले पनि चुनाव आउनका लागि अब एक महिना पनि नहुदा नागरिकहरुले खोइ घोषणा पत्र भनेर सोधेका पनि छैनन । फेरि यो कुरा पनि गलत होला किनभने घोषणा पत्र त आवश्यक पर्छ नै । बिना घोषणा पत्र पनि मत माग्ने कुरा जायज होइन र मतदाताहरुले बिना घोषणा पत्र उम्मेदवारलाई अनुमोदन गर्ने कुरा पनि उचित होइन । त्यसैले पनि घोषणा पत्र माग्न आवश्यक छ ।
तर, दलहरुले ल्याउने घोषणा पत्र झुठा हुनुभएन । केवल आश्वासनमुखी मात्रै हुनु पनि भएन । यसैमा पनि धेरैको वितृष्णा छ । चुनावकोे समयमा घोषणा गर्ने तर काम कहिल्यै नगर्ने बानीका कारण पनि जनतामा तीव्र असंतोष कायम भएको हो । यो कुरा सबै दलले बुझ्न आवश्यक छ । पूरा नहुने र हुनै नसक्ने कुरा प्रतिबद्धता गरेर अर्थ छैन । यो कुरमा दलहरु गम्भीर बनूस् केवल गफ घोषणा पत्र नआओस् ।


















