कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिका– ३ परसवाटाडीका ६५ दलित परिवारले अहिले सम्म जग्गा धनी प्रमाणपूर्जा पाउन सकेका छैनन् ।वंशजको आधारमा नागरिकता प्रमाणपत्र, जग्गा, र जग्गामा घर भएपनि विगत १८ वर्षदेखि परसवाटाडीका दलितहरु लालपूर्जा विहिन भएर बसेका छन् ।२०६२ सालतिर ऐलानी जग्गामा बसोबास गर्दै आएका ६५ घरपरिवारले आजसम्म लालपुर्जा नपाएका हुन ।
१८ वर्षमा पनि उनीहरूको जग्गा नापी हुन नसक्दा आजसम्म सुकुम्बासी भएको पीडा भोग्दै आइरहेका छन् । सडक, विद्युत खानेपानी लगायतका आधारभूत आवश्यकताभन्दा टाढा रहेको परसवाटाडीको सुकुम्बासी बस्तीमा चमार, मुसहर, दुसाद, मुस्लिम, थारू जातिको बसोबास रहेको छ ।वंशजको नागरिकता पाएका र स्थानीय निर्वाचनमा मत खसाल्ने अधिकार प्राप्त गरेका सुकुम्बासीले हालसम्म पनि लालपुर्जा पाउन नसक्नु विडम्बना नै भएको स्थानीय भोला महतो थारू बताउनुुहुन्छ ।
बेलाबेलामा सरकारले सुकुम्बासी आयोग गठन गर्यो निवेदन दर्ता गराएपनि जग्गाको हालसम्म नापी हुन नसक्दा दलित लालपुर्जाविहीन भएर बस्नु परेको छ । प्रदेश नं २ सरकारसमेत पूर्वाग्रही भएपछि उनीहरू हालसम्म सुकुम्वासी नै भएको उनीहरूको गुनासो छ ।गाउँपालिकाभित्र इलाका प्रशासन कार्यालय पुग्दासमेत जग्गाको लालपुर्जाबारे केही प्रयास हुन नसकेको लालपुर्जाविहीन सुकुम्बासीको गुनासो छ ।

















