आरके राजन
सिम्रौनगढ,सिम्रौनगढ विशेषाङक ‘भोजपुरिया माटी’ पुस्तकको शनिवार विमोचन गरिएको छ ।सिम्रौनगढ नगरपालिकाको सभा कक्षमा प्रमुख अतिथि नेपाल भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर र सिम्रौनगढ नगरपालिकाका मेयर किशोरीप्रसाद कलवारले संयुक्त रुपले पुस्तक विमोचन गर्नुभएको हो ।पुस्तक विमोचन गर्दै प्रमुख अतिथि ठाकुरले प्रसिद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल सिम्रौनगढको पहिचान पञ्चायत कालदेखि समाप्त पार्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो । ‘केही वर्षअघिसम्म पनि सिम्रौनगढको नाममा केही थिएन, उहाँले भन्नुभयो, जब नामै कसैलाई थाह थिएन भने विकासको कल्पना कसरी गर्न सकिन्छ ।’ उहाँले अगाडि भन्नुभयो, ‘अहिले पनि केही अराजक समूहहरू राजा आउ देश बचाउको कुरा गर्दैछन्, संघीयता, लोकतन्त्र र गणतन्त्र जबसम्म बलियो हुंदैन सिम्रौनगढको हालत पञ्चायती कालभन्दा पनि खराब हुनेछ ।’सिम्रौनगढका नगर प्रमुख किशोरीप्रसाद कलवारको अध्यक्षता भएको पुस्तक विमोचन कार्यक्रममा भोजपुरी प्रतिष्ठान बाराका अध्यक्ष एवंम ‘भोजपुरिया माटी’ पुस्तकका सम्पादक रामप्रसाद साह, उपाध्यक्ष जङ्गबहादुर यादव, साहित्यकार बतहु यादव, ध्रुवलाल सहनी, विजय पाण्डेय, आमोद गुप्ता, धिरेन्द्र यादव, सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ का अध्यक्ष रामदिनेशप्रसाद यादव, वडा नम्बर ७ का अध्यक्ष विवेक मेहता, वडा नम्बर ६ का अध्यक्ष नन्दकिशोरप्रसाद जयसवाल, सहित्यकार रामेश्वर मेहतालगायतले कार्यक्रममा शुभकामना वक्तव्य दिनुभएको थियो ।साहित्यकार सुरेन्द्र गिरीले स्वागत गर्नुभएको यो कार्यक्रमको सञ्चालन संजुबाबा मोचीले गर्नु भएको थियो ।सो अवसरमा कवि आमोदप्रसाद गुप्ताले सिम्रौनगढको कथायुक्त गीत प्रस्तुत गर्नुभएको थियो ।
















