खासगरी लिङ्गका आधारमा गरिने हिंसा लैङ्गिक हिंसा हो । नेपालजस्तो पितृप्रधान संस्कारको मुलुकमा लैङ्गिक हिंसा भन्नु नै महिला हिंसा भन्ने बुझिन्छ । तर, पुरुष पनि लैङ्गिक हिंसाका शिकार भएका छन् । पुरुषलाई समाजले धक फुकाएर रुनसम्म दिंदैन । मानवीय संवेदना र भावना व्यक्त गर्न पनि रोक लगाउँछ । ‘हेर, छोरा भएर पनि रोएको’ भन्छ, हाँसोको पात्र बनाउँछ र अपमानित गर्छ । छरछिमेकको जति आर्थिक आर्जन गर्न नसक्ने पुरुषलाई परिवारका सदस्यले नै नामर्द भन्छन् भने समाजले त नभन्ने कुरै भएन । पुरुष भएपछि टन्न कमाउन सक्नैपर्ने जुन बाध्यता छ त्यो पनि उनीहरु विरुद्धको हिंसा नै हो ।

पुरुष भएकै कारण यस संसारका साँढे तीन अर्ब नागरिकमध्ये अधिकांश विभेदको शिकार भइरहेका छन् । तर, पुरुष र महिलामध्ये को बढी हिंसामा छ भनेर खोज्नेहो भने महिलाको प्रतिशत निकै अधिक देखिन्छ । नेपालमा गत सातादेखि चर्चामा रहेको १६ वर्षे बालिका बलात्कारको जुन पीडादायी घटना छ, शिक्षकद्वारा छात्रामाथि हुने यौन हिंसाका सन्दर्भ छन्, कार्यक्षेत्रका यौन हिंसाका सबाल छन्, यी आदि पुरुषले नगण्य मात्रामा मात्र सहनुपर्छ ।

बालिका तथा किशोरीहरुमाथि भएको यौन हिंसाको घटनाले नेपाली समाज अझै पनि दास युगमै छ कि जस्तो लाग्छ । यद्यपि पीडितका पक्षमा सडकमा उत्रिएको जनसमुदाय देख्दा सभ्यताउन्मुख भएको पनि प्रमाणित हुन्छ । नेपालको कानुन महिलामैत्री छ यद्यपि महिलाहरु हिंसामा परेको कुरा सत्य हो तर यही कानुनको आडमा अनावश्यक आरोप लगाउने र वषौं अगाडिका घटनालाई कुनै न कुनै मुद्दा उठाएर पछाडि मानसिक तनाव पनि दिने गरिन्छ । त्यसैले पनि महिला र लैंगिक हिंसा दुबै अन्त्य हुन आवश्यक छ ।

 

Leave a Reply