नरेश गुप्ता
बरियारपुर,पचरौता नगरपालिकाले नगरबासीसंग कुनै किसिमको शुल्क नलिने घोषणा गरेको छ । पचरौता नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जलान्धर सिंहले सोमबार प्रमुख जिल्ला न्यायाधीश खिलराज रेग्मीसंग शपथ ग्रहण गरेपछि पचरौता नगरपालिकाको नगर प्रमुखमा पदभार ग्रहणसंगै जनतासंग सरोकार राख्ने जन्मदर्ता, विवाह दर्ता, नागरिकता सिफारिस, चारकिला प्रमाणितलगायत कुनै कामको सिफारिसमा पनि नगरपालिकाले शुल्क नलिने घोषणा गर्नुभएको हो ।
आर्थिक वर्ष ०७९÷०८० देखि नगरपालिकाको कर मिनाहा सम्बन्धि निर्णय लागु हुने बताइएको छ ।
वैद्धिक मन्त्र र विधिअनुसार पदभार ग्रहण गर्नुभएका सिंहले नगरपालिकाभित्र १ सय बेडको नगर अस्पतालको लागि सोमबारबाट नै प्रक्रिया शुरु गर्ने निर्णय गर्नुभएको छ । त्यसैगरी नगर प्रमुख सिंहले नगरपालिकाभित्रका सामुदायिक विद्यालयको शिशु कक्षामा अग्रेजी माध्यमबाट पठनपाठन संचालन गर्ने निर्णय पनि गर्नुभएको छ । नगरपालिकाले संचालन गरेको एम्बुलेन्स सेवा नेपाल र भारत लगायत छिमेकी जिल्ला पर्सा, रौतहटसम्मको लागि पुर्णरुपमा निः शुल्क गरिएको छ । कृषि मिटरको महसुस समेत नगरपालिकाले बेहोर्ने निर्णय गरिएको छ ।
पचरौता नगरपालिकाको सभा हलमा आयोजित शपथ तथा पदभार ग्रहण कार्यक्रममा नगर प्रमुख सिंहले उपप्रमुख नसिमा खातुनलगायत वडा अध्यक्ष र वडा सद्स्यहरुलाई पद तथा गोपनियताको शपथ दिलाउनुको साथै पदभार ग्रहण गराउनुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सद्स्य अच्युत मैनालीले एमालेले बारा जिल्लाको स्थानीय तह निर्वाचनमा सबैभन्दा ठूलो पार्टीको रुपमा स्थापित भएको बताउनुभयो । पचरौता नगरपालिका भारतीय सीमा क्षेत्रसंग जोडिएको र यस क्षेत्रमा एमालेको विजय ऐतिहासिक भएको बताउनुभयो । मैनालीले पचरौताको विकास र समृद्धिको लागि जुनसुकै पार्टीमा आवद्ध भएको भएपनि सबैले सबैसंग काँधमा काँध मिलाएर अघि बढनु पर्ने बताउनुभयो । शपथग्रहण कार्यक्रममा स्थानीय शिक्षक, समाजसेवी र पत्रकारहरुलाई नगरप्रमुख सिंहले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।