वीरगञ्जको सिर्सिया नदीमा बढ्दो प्रदूषण नियन्त्रण र सरसफाइका लागि प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहले चासो देखाएपछि सरकारी स्तरबाट पहल अघि बढाइएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि उद्योग मन्त्रालयको टोली वीरगञ्ज पुगेर नदी सफाइ अभियानलाई प्रभावकारी बनाउने विषयमा छलफल तथा समन्वयमा जुटेको छ।

उद्योग मन्त्रालयका प्रमुख स्वकीय सचिव आशिष् सुवेदीसहितको टोली प्रधानमन्त्री कार्यालयको विशेष निर्देशनअनुसार वीरगञ्ज आएको हो। टोलीले नदीको प्रदूषण नियन्त्रण, सरसफाइ र दीर्घकालीन व्यवस्थापनका उपायबारे सम्बन्धित निकाय तथा सरोकारवालासँग छलफल गरिरहेको छ।

यस क्रममा टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, उद्योगी–व्यवसायी, नारायणी सिँचाइ कार्यालयका प्रतिनिधि तथा जेन–जी पर्साका सदस्यहरूसँग छलफल गरेको छ।

छलफलमा सिर्सिया नदी प्रदूषित हुनुका कारण, औद्योगिक फोहोर तथा अन्य प्रदूषित पदार्थ नदीमा मिसिनबाट रोक्ने उपाय र सरसफाइ अभियानलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर विचारविमर्श भएको बताइएको छ।

अभियानमा जेन–जी पर्साका संयोजक विशेष साहले पनि सक्रिय समन्वय गरिरहेका छन्। नदीलाई प्रदूषणमुक्त बनाउन सरकारी निकाय, स्थानीय सरकार, उद्योगी–व्यवसायी र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उनको धारणा छ।

आगामी छठ पर्वअघि सिर्सिया नदीलाई सफा बनाउने तत्कालीन लक्ष्य राखिएको छ। त्यससँगै नदीमा फोहोर तथा औद्योगिक प्रदूषण मिसिन नदिने र आगामी दिनमा पुनः प्रदूषित हुन नदिन दीर्घकालीन समाधान खोज्ने विषयमा पनि छलफल भइरहेको छ।

वीरगञ्जको वातावरण र स्थानीय नागरिकको जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने सिर्सिया नदीको प्रदूषण लामो समयदेखि गम्भीर समस्याका रूपमा रहँदै आएको छ। नदीमा औद्योगिक तथा अन्य फोहोर मिसिँदा यसको स्वच्छता र पर्यावरणमा नकारात्मक असर परेको भन्दै स्थानीयस्तरमा पटक–पटक आवाज उठ्दै आएको छ।

प्रधानमन्त्रीको चासोपछि मन्त्रालयको टोली नै वीरगञ्ज पुगेर सरोकारवालासँग छलफल थालेपछि नदी सफाइ अभियानले गति लिने अपेक्षा गरिएको छ। यद्यपि, अभियानलाई प्रभावकारी बनाउन तत्कालीन सरसफाइसँगै प्रदूषणका स्रोत नियन्त्रण र नियमित अनुगमनको व्यवस्था आवश्यक देखिन्छ।

सिर्सिया नदीको संरक्षण र प्रदूषण नियन्त्रण केवल सरसफाइको विषय मात्र नभई वीरगञ्जको वातावरणीय सन्तुलन, जनस्वास्थ्य र भावी पुस्ताको सुरक्षित भविष्यसँग जोडिएको विषय हो।

Leave a Reply