काठमाण्डौं,रामेछापको मन्थली नगरपालिका– ६, भलुवाजोरस्थित त्रिवेणी नजिकै मंगलबार बिहान भएको भीषण बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको ९९७५ नम्बरको अरनिको यातायातको बस बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो ।मृत्यु हुनेहरूमा एकै परिवारका ४ सदस्य समेत रहेका छन् । दुर्घटनामा बसका साहु (धनी) को पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृत्यहरुलाई मन्थली नगर अस्पतालमा राखिएको छ । पोष्टमाटम पश्चात परिवारलाई शव बुझाउने अस्पताल प्रशासनले जनाएको छ ।

दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन्, जसमध्ये ७ जनालाई थप उपचारका लागि तत्काल काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटना लगत्तै स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएका थिए । नदीमा बस खसेको र भिरलो ठाउँ भएकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको उद्दारमा खटिएका प्रहरी अधिकारीले जनाएका छन् ।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मोडमा गाडीको गति अत्यधिक (ओभर स्पिड) भएका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान गरिएको छ । घाइते अवस्थामा रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिई मन्थलीको एक स्थानीय अस्पतालमा उपचार गराइरहेको छ ।गाडीमा कति यात्रु सवार थिए भन्ने एकिन तथ्यांक अझै खुल्न सकेको छैन । हाल घटनास्थलमा खोजी र उद्धारको कार्य जारी रहेको र मृतकको सनाखत गर्ने प्रक्रिया भइरहेको प्रहरीले बताएको छ । यो समाचार तयार पार्दा सम्म १० जना मृतक र ८ जना घाईतेको सनाखत भएको थियो ।

Leave a Reply