सिम्रौनगढ,भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले शनिबार साँझ भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको करिब डेढ लाख प्रतिबन्धित नशालु ट्याब्लेटसहित झरोखरबाट दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला बसतपुर कालोनीका २२ वर्षीय तपस कुमार र सोही स्थानका २२ वर्षीय गुलशनकुमार रहेका छन् ।
एसएसबी ७१ औँ बटालियनको अठमोहनस्थित इन्टेलिजेन्स युनिटबाट प्राप्त विशेष सूचना अनुसार भारतको पूर्वी चम्पारण क्षेत्रबाट नेपाल भित्र्याउन ठूलो परिमाणमा मनोप्रभावी औषधि पठाइएको थियो ।तस्करहरूले ढाका (पूर्वी चम्पारण) देखि झरोखरसम्म इलेक्ट्रिक अटो रिक्सा प्रयोग गरेका थिए भने सुरक्षाकर्मीको निगरानी छल्न ‘लाइनर’ समेत परिचालन गरिएको खुलेको छ ।
सूचना पाएलगत्तै एसएसबीले झरोखर प्रहरीसँग समन्वय गर्दै संयुक्त अपरेशन अघि बढाएको थियो । कमाण्डेन्टको निर्देशनमा एफ कम्पनी जमुनिया र स्थानीय प्रहरी टोली परिचालन गरिएको थियो ।भारततर्फको बीपी सीमास्तम्भ नम्बर ३५७-०२ नजिक अमवा गाउँ क्षेत्रमा शंकास्पद इलेक्ट्रिक अटो रिक्सा विआर ०५ आर ए ४४८१ रोकेर जाँच गर्दा ठूलो परिमाणमा प्रतिबन्धित औषधि फेला परेको हो ।जाँचका क्रममा पाँच कार्टुनमा लुकाएर राखिएको ट्रमाडोल ५० एमजीका चार सय ९५ प्याकेट बरामद गरिएको एसएसबीले जनाएको छ । प्रत्येक प्याकेटमा तीन सय ट्याब्लेटका दरले जम्मा एक लाख ४८ हजार पाँच सय नशालु ट्याब्लेट बरामद भएको हो ।
बरामद औषधिसहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि सिम्रौनगढको झरोखर प्रहरी चौकीमा बुझाइएको छ ।यसैबीच एसएसबी ७१ औँ बटालियनकै अर्को कारबाहीमा नेपालबाट भारततर्फ गाँजा तस्करी गर्दै गरेका एक युवक पक्राउ परेका छन् ।
‘बी’ कम्पनी महुवावा र बिहार प्रहरीको संयुक्त गस्ती टोलीले करिब दुई किलो लागूऔषध गाँजासहित पूर्वी चम्पारण जिल्ला मधुवनजितौरा १५ का २२ वर्षीय कृष्णा कुमारलाई पक्राउ गरेको हो ।
उनलाई सीमास्तम्भ नम्बर ३७६ नजिक धरहरी गाउँ क्षेत्रबाट पक्राउ गरिएको हो । बरामद गाँजा नेपालबाट भारततर्फ लैजान लागिएको आशंका गरिएको छ ।पक्राउ परेका व्यक्ति र बरामद सामानलाई महुवावा प्रहरी चौकीमा बुझाएर थप अनुसन्धान भइरहेको एसएसबी पिपराकोठीका सहायक कमाण्डेन्ट बिश्वजित तिवारीले जानकारी दिनुभयो ।
















