निजगढ,निजगढ ७ को शिवसत्यश्वर टोलमा किसानहरुको लागि घरपालुवा चौपायको गोबर र मुत्रबाट जैविक मल र विषाधि तयार पार्ने विधि प्रदर्शन गरिएको छ ।निजगढ नगरपालिका र केरा तथा फलफूल उत्पादक संघ बाराको समन्वयमा कृषि वैज्ञानिक खड्गभक्त पौडेलले स्थानीय किसानहरुलाई जिवातुको प्रयोग गरेर गुणस्तरीय जैविक मल र विषाधि तयार पार्ने तरिका प्रदर्शन गर्नुभएको हो ।
किसानहरुले परम्परागत रुपमा खाल्टो खनेर तयार पर्ने गरेको गोबर मलमा बोट विरुवाको लागि आवश्यक पौष्टिक तत्वको कमी हुने भएकोले सो अवसरमा किसानहरुलाई खाल्टो बिना नै खुल्ला स्थानमा राखेर मल बनाउने तरिकाको जानकारी गराइएको थियो ।सो अवसरमा ५ फिट उचाइ र चौडाइमा थुपारेको चौपायको गोबरमा जिवातुको प्रयोग गरेर जैविक मल बनाउने सीप सिकाइएको केरा तथा फलफूल उत्पादक संघ बाराका अध्यक्ष एकबहादुर श्रेष्ठले बताउनुभयो । यो विधिबाट ३ महिनाभित्र नै गुणस्तरीय मल तयार हुने र बोट बिरुवाकोबाट पनि राम्ररी फस्टाउने बताइएको छ ।
सो प्रदर्शनीमा निजगढ नगरभित्रका करिव २५ जना किसानहरुको सहभागिता रहेको केरा तथा फलफूल उत्पादक संघ अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी चौपायको मुत्र, जिबातु, सुर्तिको धुलो र पानीको प्रयोगबाट किट नाशक विषाधि तयार पार्ने विधिको बारेमा पनि जानकारी गराइएको श्रेष्ठले बताउनुभयो ।


















