राजकुमार यादव
मौलापर,रौतहट क्षेत्र ३ मा नेकपा एमालेको टिकट त्यागेर प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रभु साहले बिहिबार फतुवाविजयपुर नगरपालिकाको मेवामा घरदैलो तथा अन्तरक्रिया कार्यक्रम गर्नुभएको छ ।
पूर्वमन्त्री साहले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएपछि रौतहट ३ को चुनाव रोचक बनेको छ । गठबन्धनका कारण प्रमुख दलको तर्फबाट उम्मेदवारी नपरेपछि यो क्षेत्रमा अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकास साहसंग प्रभु साहको टक्कर पर्ने देखिएको छ । स्वतन्त्र उम्मेदवर साहले मेवापछि टेग्रहामा र सन्तपुरमा पनि घरदैलो र अन्तरक्रिया कार्यक्रम गर्नुभएको छ ।
कार्यक्रममा साहले विगतमा आफूले गरेको कार्य र यस आर्थिक वर्षमा पनि मुख्यतः निर्वाचन क्षेत्र नं. ३ लगायत रौतहट जिल्लामा भए गरेका केहि महत्वपूर्ण कार्यहरु बारे जानकारी गराउदै संक्षिप्त कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले निर्वाचन प्रतिबद्धता पत्र पनि वितरण गर्नुभएको थियो । साहले वितरण गर्नुभएको संक्षिप्त कार्य प्रगति विवरणमा सडक पूर्वाधार, पुल, नाला ढलान, नयाँ सडक ट्रयाक, सिंँचाई, विधुतीकरण, भवन, एकीकृत बस्ती, सहरी पूर्वाधारका कार्य, खानेपानी, ढल निकास, ग्याँस चुल्हा र सिलिण्डर वितरण, शिक्षा र स्वास्थ्य र सूचना सञ्चार क्षेत्रमा गरिएको महत्वपूर्ण कार्यहरुलाई बुँदागत रुपमा समेटिएको छ ।
त्यस्तै साहको प्रतिबद्धता पत्रमा स्थिरता, सुशासन र विकास, प्रत्यक्ष कार्यकारी शासन, प्रणाली जनउत्तरदायी लोकतान्त्रिक अभ्यास, भागबन्डा विरुद्ध निष्ठाको राजनीतिलाई जोड दिइएको छ । हरेक गाउँमा राजमार्ग, नयाँनयाँ कृषि सडक, बकैया नदीमा पक्की तटबन्ध, नदी किनाराका दुवैतर्फ पिच सडक, घरघरमा नाला, गाउँ बस्तीमा ढल, मजबुत उर्जा पूर्वाधारसहित निःशुल्क विद्युत, सबै खेतमा आधुनिक सिंँचाई ,ल्याण्डपुलीङ्गमार्फत नयाँ शहर, गरीबलाई घर, नयाँ बस्ती निर्माण, गुणस्तरीय शिक्षाका लागि आधुनिक पूर्वाधार, नगरमा मोडेल अस्पताल, युवालाई रोजगार, आधुनिक कृषि र किसानलाई पेन्सन, मजबूत ईन्टरनेट पूर्वाधार सहित फ्री वाईफाई, बाँकी रहेका घरमा ग्याँस चूल्हा र सिलिन्डर वितरण, एक व्यक्ति एक खाता, बैकिंङ्ग सेवामा सहजता, देशमा स्थिरताको लागि संविधान संशोधन, सुरक्षित समाज पीडितलाई न्याय, सुशासनको आधार पारदर्शी एवं जनउत्तरदायी सरकार हरेक नगरमा खेल मैदान, खेलाडीलाई सम्मान जस्ता कुराहरु प्रतिबद्धता पत्रमा उल्लेख छ ।
सो कार्यक्रममा क्षेत्र ३ (क) का स्वतन्त्र उम्मेदवार केशव राय चौधरी, नेकपा माओवादी फतुवा विजयपुर नगरपालिकाका मेयर प्रत्यासी अजय तिमिलसिना, अरविन्द यादव, विजय यादव निर्विज तथा एकीकृत समाजवादी र नेकपा माओवादीका नेता तथा कार्यकर्ता लगायत विभिन्न दलका स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।

















