वीरगन्ज,वीरगन्जको अति व्यस्त रहने घण्टाघर चोकदेखि माइस्थान चोकसम्मको कालोपत्रे सडक, ठाँउठाँउमा भत्किएर जीर्ण हुँदा नगरवासीलाई सास्ती भएको छ । घण्टाघरदेखि पानगल्ली चोक हुदै माइस्थान चोकसम्मको कालोपत्रे सडक भत्किएको र अहिले वर्षाको पानी खाल्डा खुल्डीमा जमेका कारण पैदल यात्रु र सवारीचालकहरुलाई सास्ती भएको हो ।

वर्षा याम शुरु भए यता मेनरोडकै सडक जीर्ण हुँदा समेत मर्मत सम्भारका लागि सम्बन्धित निकायले चासो पनि नलिएको नगरवासीको गुनासो छ । केहि समय पहिले घण्टाघरदेखि पावरहाउस चोकसम्मको बाँयातिरको सडक जीर्ण भएर नगरवासीको चर्को गुनासो आएपछि महानगरपालिकाले २ करोड भन्दा बढी रकम खर्च गरेर उक्त सडक कालोपत्रे गरेर मर्मत गरेको थियो । अहिले घण्टाघरदेखि माइस्थानसम्मको सडकको पनि त्यस्तै दुर्दशा भएपछि सामाजिक सन्जालमा सडक मर्मतका लागि माग गर्दै जीर्ण सडकको तस्वीर राखेर नगरवासीले महानगरपालिकालाई दबाब दिइरहेका छन् । तर महानगरपालिकाको भने ध्यान नपुगेको नगरबासीको गुनासो छ ।

सडक विभाग मातहत पर्ने उक्त सडकको मर्मत गर्न सडक विभागले पनि चासो देखाएको छैन । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले पनि उक्त सडक सडक विभाग मातहत पर्ने भएकाले मर्मत पनि सडक विभागले नै गर्नु पर्ने भएपनि सडक विभागले चासो नदेखाएको गुनासो गर्नुभयो । तर सडक विभागले चासो नदेखाए पनि महानगरवासीको समस्याको सम्बोधन गर्नु पर्ने दायित्व महानगरपालिकाको नै भएका कारण छिट्टै सडक मर्मतका लागि काम थाल्ने सरावगीले बताउनुभयो । उहाँले जीर्ण सडकको सास्ती खेपेका नगरबासीले पनि सडक विभागलाई दबाब दिनुको सट्टा महानगरपालिकाकै आलोचना गरिरहेका कारण बाध्य भएर अब महानगरपालिकाले सडक मर्मत गर्नु पर्ने अवस्था आएको बताउनुभयो । यसका लागि आवश्यक प्रकृया शुरु भइसकेको जानकारी पनि उहाँले दिनुभयो ।

Leave a Reply