निजगढ –  भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका निजगढ नगरपालिका– ९ शान्तिटोलका ३९ वर्षींय राज बिष्टको कुशको शव बनाएर अन्त्यष्टि गरिएको छ । बाढीपछि बेपत्ता बिष्टको अवस्था पत्ता लाग्न नसकेपछि आफन्तले हिन्दू धार्मिक परम्पराअनुसार कुशको शव बनाएर शुक्रवार स्थानीय बकैया खोलास्थित आर्यघाटमा दाहसंस्कार गरेका हुन ।

बिष्टको दाहसंस्कारको लागि निजगढ नगरप्रमुख सुरथ पुरी, पूर्वनगरप्रमुख सुरेशकुमार खनाल, वडा अध्यक्ष रामचन्द्र कटुवाल, इलाका प्रहरी कार्यालय, निजगढका प्रहरी निरीक्षक दाताराम अधिकारीलगायत आर्यघाट पुगेका थिए ।
रसुवास्थित त्रिशूली हाइड्रोपावरमा कार्यरत बिष्टले बाढी आउनुअघि बिहान करीब ७ बजे आफ्नी पत्नी सुनीतासँग मोबाइलमा कुराकानी गरेको थिए । त्यसपछि परिवार तथा आफन्तसंग सम्पर्क हुनसकेको थिएन ।

बिष्टको अवस्था पत्ता लगाउन परिवारका सदस्य, आफन्त, छिमेकीसहित निजगढ नगरपालिका– ९ का अध्यक्ष रामचन्द्र कटुवाल चितवन, धादिङ्ग, नुवाकोट र रसुवासम्मै पुगेका थिए । प्रहरी प्रशासनसँगको समन्वयमा विभिन्न जिल्लामा पुगेर खोजी गरे पनि कुनै जानकारी प्राप्त हुन नसकेको वडा अध्यक्ष कटुवालले बताउनुभयो । बिष्टसँगै निजगढ ९ का कन्टेनर चालक ३० वर्षीय दिनेश परियार र हाल काठमाण्डौं बस्दै आउनुभएका निजगढ ८ न्यौपाने टोलका ५५ वर्षीय उत्तम न्यौपानेको अवस्था पनि भोटेकोशी बाढीपछि बेपत्ता छ । बिष्टको परिवारमा श्रीमतीसहित १२ वर्षीय छोरा क्रिस र आमा छन ।

Leave a Reply