सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकामा आज बस्ने भनिएको नगरसभा स्थगित भएको छ । अदालतको फैसलाअनुसार एक महिनाभित्र नगरसभा आयोजना गर्नुपर्ने भएपछि आजको लागि नगरसभा बस्ने तयारी गरिएको थियो ।तर निर्धारित समयमा नगरपालिका कार्यालयमा उपप्रमुख नजमु शेहर सहित केही वडा अध्यक्ष, वडा सदस्यबाहेक नगर प्रमुख , कार्यपालिकाका अधिकांश सदस्य र कार्यालयका कर्मचारीहरु पनि अनुपस्थित भएपछि पूर्वनिर्धारित नगर सभा कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

नगर सभा स्थगित भएको विषयमा उपप्रमुख नजमु शेहरले नगर प्रमुख कलवार, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतलगायत अधिकांश वडा अध्यक्ष र वडा सदस्यको अनुपस्थित भएकाले नगरसभा सञ्चालन सम्भव नभएको जानकारी दिनुभयो । उहाँले आगामी फागुन २१ गते हुने निर्वाचन आचारसंहिता पनि लागू भइसकेका कारण जिल्ला प्रशासन कार्यालय बाराले नगर प्रमुख कलवारसंग सम्पर्क गरेर नगरसभा नगर्न आग्रह गरेको सूचना आफूले पनि पाएको उहाँको भनाई छ ।

‘सिडियो साबले नगर प्रमुख कलवारलाई फोन गरेर निर्वाचन आचारसंहिता लागू भइसकेकोले नगर सभा स्थगित गर्न आग्रह गर्नुभएको भन्ने सुनेको थिए, उहाँले भन्नुभयो, तर सोबारेमा आफूहरुलाई कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन ।’ उहाँले नगर प्रमुख कलवारले सभा स्थगित गरिएको सम्बन्धमा कार्यपालिका सदस्यहरुलाई आधिकारिक र औपचारिक रुपमा जानकारी गराउनुपर्नेमा सो कार्य नभएकोभन्दै गुनासो पनि गर्नुभएको छ ।यसैबीच नगर प्रमुख कलवारले नगर सभा सम्पन्न भएको जानकारी गराउनुभएको छ । नगर प्रमुख कलवारले आज विज्ञप्ति निकालेर जिल्ला प्रशासन कार्यालयबाट नगरसभा गर्न अनुमति पाएपछि दिउसो ३ बजे नगरसभा गरिएको जानकारी दिनुभएको हो ।

Leave a Reply