कलैया,बारा प्रहरीले जेठ २९ गते कलैयामा भएको कुटपिट र हत्या प्रकरणमा संलग्न रहेको आरोपमा थप एकजनालाई पक्राउ गरेको छ । उक्त घटनामा पक्राउ पर्नेको संख्या हालसम्म ५ पुगेको छ ।कलैया उपमहानगरपालिका १४ बघवनका ५० वर्षीय नन्दु राउत कुर्मीको हत्या प्रकरणमा प्रहरीले एकै परिवारका चारसहित पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बघवनका ३८ वर्षीय उमेश जयसवाल, उनको श्रीमती ३५ वर्षीय रञ्जुदेवी, उनको २० वर्षीय छोरा सुमित र १८ वर्षीय छोरा सुजित रहेका छन् ।
यसैगरी प्रहरीले कुटपिटमा संलग्न रहेका ३४ वर्षीय दिगम्बर प्रसाद जयसवाललाई पक्राउ गरिसकेको छ । प्रहरीले घटनाको मुख्य आरोपित उमेशलाई हिजो बिश्रामपुर गाउँपालिकाबाट पक्राउ गरेको हो भने उनको श्रीमती रञ्जुदेवीलाई असार ४ गते कलैयाबाट नियन्त्रणमा लिएको थियो । उनी कलैयास्थित एक घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेकी हुन् ।यसैगरी उमेशका दुई छोरा सुमित र सुजित वीरगञ्ज महानगरपालिका १ शान्तिटोलबाट असार ४ गते राति पक्राउ परेका थिए । आमा रञ्जुदेवी पक्राउ परेको केही घण्टापछि प्रहरीले छोराहरुलाई पनि नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न रहेको आरोपमा दिगम्बर प्रसादलाई प्रहरीले जेठ ३० गते बघवनबाटै नियन्त्रणमा लिएको थियो ।पक्राउ परेका व्यक्तिहरुले कुर्मीलाई बघवनस्थित एक राईस मिल अगाडी कुटपिट गरी घाइते बनाएका थिए । कुटपिटबाट गम्भीर घाइते कुर्मीको उपचारका क्रममा मृत्यु भएको थियो । घटनापछि मृतकका छोरा दीपेन्द्र पटेलले किटानी जाहेरी दिएका ६ जनामध्ये पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

















