नेपालको संबिधानले शिक्षा, स्वास्थ्य सहित खानेपानीलाई पनि नागरिकहरुको मौलिक हकको रुपमा उल्लेख गरेको छ । कुनै पनि नागरिकले शुद्ध पानी पिउन पाउनु उसको अधिकार हो । तर, नेपालका कतिपय स्थानका नागरिकहरुले अझैप नि दूषित पानी पिउन परिरहेको छ ।यस्तै मध्यको एक हो, बाराको अमलेखगन्ज । बाराको अमलेखगन्जका बासिन्दाले अझै शुद्ध पानीका लागि संघर्ष गर्नुपरेको छ ।निकै पुरानो बस्ती अमलेखगन्जको पानीका लागि नेताहरुले धेरैले धेरै प्रकारका आश्वासन दिए तर उनीहरुको सपना अझै पूरा भएको छैन । पानीको समस्या झेल्दाझेल्दै धेरै परिवर्तन देशमा भए पनि । धेरै व्यवस्था पनि फेरिए तर अमलेखगन्जका स्थानीयहरुको अवस्था भने जहाँको त्यँही छ । अझै पनि खानेपानीका लागि संघर्ष गर्नुपर्ने र दूषित पानी पिउन पर्नु स्वयम् अमलेखगन्जवासीका लागि त पीडाको कुरा हो नै साथमा जनप्रतिनिधिहरुका लागि पनि लाजमर्दो कुरा हो ।त्यही अमलेखगन्जवासीको समेत मत पाएर विजयी एकजना सांसदले कम्तिमा त्यहाँको समस्या समाधान गर्ने बताएका छन् । हुन त यस्तो आश्वासन अमलेखगन्जबासीका लागि नौलो कुरा होइन । धेरै आएका थिए तर काम गर्ने कोही आएनन् । माननीयको कुरा पनि अमलेखगन्जवासीले पत्याइहाल्ने अवस्था त छैन तर पनि बोलेको कुरा पूरा गरेको खण्डमा भने चैं निकै पुण्यको काम हुनेछ ।


















