कलैया,बाराको कलैया उपमहानगरपालिका– ४ का पूर्व वडा अध्यक्ष जटाशंकर सहनीका छोरा रबिनकुमार सहनीमाथि भएको चक्कु प्रहार घटनामा संलग्न अभियुक्त इमताज अन्सारीलाई बारा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।बारा जिल्ला अदालतको इजलास नम्बर ५ का न्यायाधीश नरेन्द्रबहादुर बुढाको इजलासले आज कलैया उपमहानगरपालिका– ५ बारेवा टोल निवासी अन्सारीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

पीडितका बुवाले दिएको जाहेरीका आधारमा पक्राउ परेका अन्सारीमाथि ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार अनुसन्धान सम्पन्न गरी अदालतमा पेश गरिएपछि अभियुक्तलाई कारागार चलान गरिएको हो । डिएसपी पण्डितका अनुसार अन्य फरार अभियुक्तहरुको खोजी कार्य भइरहेको छ ।कलैया उपमहानगरपालिका– ४ स्थित कलैया गाउँमा आफ्नै घर अगाडि पुस १९ गते शनिबार साँझ सहनीमाथि चक्कु प्रहार गरी अभियुक्त मोटरसाइकल छाडेर फरार भएका थिए ।

Leave a Reply