पुष्पराज खतिवडा
मनहर्वा,प्रहरीको ज्यादती विरुद्ध बाराको कलैयामा शनिवार भएको विरोध प्रर्दशनमा हजारौं सर्वसाधारणले सहभागिता जनाएका छन् ।प्रहरीले गत मंगलबार साँझ नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादवलाई घण्टौं नियन्त्रणमा राखेर अमानवीय तवरले शारीरिक तथा मानसिक यातना दिएको विरोधमा ४ दिनदेखि कलैयामा प्रर्दशन हुदैआएको हो ।यादव र नेकपा एकिकृत समाजवादीका जिल्ला उपसचिव धु्रव यादव उपर भएको प्रहरी दमनको बिरोधमा जारी आन्दोलनको क्रममा शनिवार भएको प्रदर्शनमा नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको थियो ।बिरोध जुलुशले प्रहरी प्रशासनको विरोधमा चर्को नाराबाजीका साथ कलैया नगरको विभिन्न भागमा परिक्रमा गरेको थियो । उनीहरुले कलैयाको भरत चोकमा टायर बालेर प्रर्दशन गर्दै केहीबेर सडकसमेत अवरुद्ध पारेका थिए ।प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेय र प्रहरी निरीक्षक रुपेश साहसहित घटनामा संलग्न दोषी प्रहरीलाई निलम्वनको माग गर्दै जारी आन्दोलनमा नेकपा एमाले बाहेकका सबै दलले ऐक्यवद्धता जनाएका छन् । शुक्रवार साँझ बसेको सर्वदलिय बैठकमा शनिवारदेखि अन्दोलनलाई थप चर्काउने निर्णय भएअनुसार आन्दोलनलाई तीव्र पारिएको नेपाली काँग्रेस बाराका उपसभापति मनोज भट्टले बताउनुभयो ।प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै वक्ताहरुले कानुनी राज्यको उपहास गर्दै नागरिकको बोल्न पाउने अधिकारमाथि दमन गर्नु र अनाहकमा कुटपिट गर्नुले प्रहरी मानव अधिकारको ठाडो उल्लंघनमा अग्रसर रहेको पुष्टि भएको बताए । उनीहरुले घटनाका दोषि डिएसपी पुरुषोत्तम पाण्डे र इन्सपेक्टर रुपेश साहको निलम्बनको मागसहित प्रर्दशन गरेका हुन् ।तीन साताअघि भएको सवारी दुर्घटनाका विषयमा पीडितका आफन्त र पीडकबीचको छलफल सहजीकरणका लागि गत मंगलवार जिल्ला प्रहरी कार्यालय पुगेका यादवलाई प्रहरीले कुटेर घाइते बनाएपछि नेपाली काग्रेस लगायत स्थानीय राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारण आन्दोलित बनेका हुन ।घटनामा संलग्न भएकालाई कारबाही माग गर्दै कांग्रेस र एकीकृत समाजवादीले प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई बुधवार ज्ञापनपत्र बुझाएको थियो । तर त्यसको कुनै सुनुवाई नभएपछि आफुहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिएको आन्दोलनरत दलले जनाएको छ ।एसपी बोगटीले नचिनेर यस्तो गल्ति भएको भन्दै घटनाबारे सत्यतथ्य बुझेर पीडितसँग छलफल गरेर विभागीय कारबाही गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कुनै प्रकृयाअघि बढेको छैन ।तीन साताअघि कलैया बघवन सडकमा पिकअप भ्यानले ठक्कर दिएपछि महागढीमाई नगरपालिका–७ बेनौली गाउँका २० बर्षीय सुनिल यादव घाइते भएका थिए । एलएस न्युरो अस्पताल वीरगञ्जमा उपचाररत पीडितलाई पीडकबाट उपचार खर्च भराउने विषयमा प्रहरीमा हुँदै गरेको छलफलमा सहजीकरण गर्न यादव प्रहरी कार्यालयमा पुग्नुभएको थियो । ्


















