कलैया,बाराको कलैया श्रीपुरस्थित रिलायन्स चिनी मिलले उखु ढुवानीको बढी भाडा लिएर किसानलाई ठग्ने गरेको पर्साका उखु किसानहरुले गुनासो गरेका छन् ।उखु उत्पादक किसान संघ पर्साका सचिव पृथ्वी साहले यस वर्ष पर्साबाट चिनी उद्योगसम्म उखु ढुवानीको भाडाबापत उद्योगले प्रतिक्विन्टल ८० रुपैयाँ लिइरहेको बताउनुभयो । गत वर्ष यो भाडा दर प्रतिक्विन्टल ६५ रुपैयाँ रहेकोमा यस वर्ष एकै पटक १५ रुपैयाँ वृद्धि गरेर किसानलाई मार पार्ने काम गरेको उहाँले आरोप लगाउनुभयो ।
‘उद्योग व्यवस्थापनले आफ्नै मिलेमतोको ढुवानी ठेकेदार खडा गरेर यस्तो काम गरी रहेको छ,’ उहाँले भन्नुभयो, ‘हामीले पत्ता लगाउँदा ८० रुपैयाँमा ६७ रुपैयाँ उद्योग व्यवस्थापनले ढुवानीकर्तालाई दिन्छ, बाँकी १३ रुपैयाँ आफै राख्छ ।’यस वर्ष रौतहटको बाबा बैजुनाथ चिनी मिलले पर्सामा काँटा सन्चालन नगरेको अवस्थामा रिलायन्स चिनी उद्योगले आफ्नो मनपरी गरेर किसान मार्ने काम मात्र गरिरहेको उहाँले बताउनुभयो ।
उद्योग व्यवस्थापनसँग कुरा गर्दा ढुवानी भाडामा पनि १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने जवाफ दिने गरेको साहले बताउनुभयो । रिलायन्स चिनी उद्योगले यस वर्ष पर्सामा मंसिर २९ देखि उखुको चलान दिएको र पुस ३ गतेदेखि उखु क्रसिंग सुरु गरेको उहाँले बताउनुभयो ।
रिलायन्स सुगर मिलका प्रबन्ध निर्देशक राजकुमार अग्रवालले भने किसानको आरोपमा सत्यता नरहेको जिकिर गर्नुभयो । उहाँले किसानसँग गत वर्षकै दरमा ढुवानी भाडा लिएको दाबी गर्नुभयो ।उद्योगले हालसम्म करिब १० लाख टन उखु क्रसिङ गरिसकेको र यस वर्ष ३० लाख टन उखु क्रसिङ गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।



















