मनोज शाह
जीतपुर,यातायात व्यवस्था कार्यालय बारा कलैयामा कार्यरत एक जना कर्मचारीमाथि नचिनेका मानिसहरुको समूहले बिहीवार दिउसो कालो मोबिल प्रहार गरेको छ । कलैयाउपमहानगरपालिका ३ गंगापुरस्थित कार्यालय परिसरमै कार्यालयका ट्रायल प्रमुख जीवनरमण पौडेलमाथि कालो मोबिल प्रहार भएको हो ।सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक युवाले घटनाको जिम्मेवारी लिँदै पौडेलमाथि मोबिल प्रहार गरेको बताएका छन् ।
आफूलाई ‘जेनजी अगुवा’ बताउने युवाले उक्त प्रहार गरेको दाबी गरेका छन् । यद्यपि, घटना संलग्न व्यक्ति र मोबिल प्रहारको वास्तविक कारण भने हालसम्म खुल्न सकेको छैन ।
घटनापछि जिल्ला प्रहरी कार्यालय बाराले कार्यालय परिसरमा जडान गरिएको सिसिटिभी क्यामराको फुटेजका आधारमा घटनामा संलग्न व्यक्तिको पहिचान गर्ने कार्य सुरु गरेको र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।यस विषयमा प्रतिक्रिया दिँदै कार्यालय स्रोतले आरोप निराधार रहेको दाबी गरेको छ र घटनाबारे आन्तरिक छानबिन भइरहेको जानकारी दिएको छ । कार्यालयले सेवाग्राहीलाई शान्तिपूर्ण र कानुनी प्रक्रियामार्फत आफ्ना गुनासो राख्न आग्रह पनि गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मेन्द्र झाले पनि घटनाबारे जानकारी प्राप्त भएको र आवश्यक प्रक्रिया अगाडि बढाइने बताउनुभएको छ ।


















