वीरगञ्ज,जिल्ला प्रशासन कार्यालय पर्साले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै इजाजत प्राप्त हातहतियार बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलका अनुसार व्यक्तिगत सुरक्षाका लागि स्थानीय प्रशासनबाट अनुमति लिएर राखिएका सबै प्रकारका हातहतियार तोकिएको समयभित्र प्रहरीलाई बुझाउन अनुरोध गरिएको हो ।
प्रशासनले माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय पर्सा वा नजिकैको प्रहरी कार्यालयमा हातहतियार तथा खरखजाना बुझाउन अपील गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नुभयो, “फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन इजाजत प्राप्त हातहतियार तोकिएको समयभित्र बुझाउनुहुन अनुरोध गर्दछु ।”
प्रशासनका अनुसार बुझाइएका हातहतियारहरू आगामी चैत २० गतेपछि सम्बन्धित हतियार धनीलाई फिर्ता गरिनेछ । निर्धारित समयभित्र हातहतियार नबुझाएमा वा प्रशासनको निर्देशन अटेर गरेमा कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी पनि जिल्ला प्रशासन कार्यालय पर्साले दिएको छ ।


















