सिमरा,सिमरास्थित जगदम्बा स्टिल्समा भएको विष्पोटको घटनापछि बारा क्षेत्र नम्बर ४ का सांसद एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान), प्रदेश सभा सदस्य देवनारायण चौधरी र जितेन्द्र सोनलले घटनाको छानबिन गर्न र उद्योग संचालनमा रोक लगाउन माग गरेका छन ।जगदम्बा स्टिल्समा बुधबार राती भएको भट्टी विस्फोटको घटनाले स्थानीयबासीमा त्रास थपेको भन्दै उनीहरुले घटनाको छानबिन गर्न सरकारसँग माग गरेका हुन ।

घटनापछि आफ्नो धारणा सार्वजनिक गर्दै सांसद श्रेष्ठले विगतदेखि नै सिमराको वातावरणमा नकारात्मक असर पार्दै आएको उद्योगभित्र पछिल्लो विष्फोट घटनाले थप त्रास बढाएको बताउनुभयो । घटनाको उचित छानबिन हुनुपर्ने र वास्तविक कारण बाहिर आउनुपर्ने उहाँको भनाई छ ।त्यसैगरी मधेश प्रदेशसभा सदस्य चौधरीले पनि जगदम्बा स्टिल्समा भएको भट्टी विष्फोट प्रकरणको छानविन हुनुपर्ने धारणा राख्नुभएको छ । सांसद चौधरीले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभएको हो । विस्फोटको घटना दुःखद् रहेको उल्लेख गर्दै चौधरीले घटनामा घाइते भएका श्रमिकको स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

त्यस्तै मधेस प्रदेशसभा सदस्य सोनलले पनि उद्योगमा भएको दुर्घटनाको उच्चस्तरीय छानबिन गर्न माग गर्नुभएको छ । पूर्व मन्त्री सोनलले घटनाको उच्चस्तरीय छानबिन गर्दै प्रतिवेदन सार्वजनिक गरेर दोषीमाथि कारबाही नभएसम्म उद्योग सञ्चालनमा रोक लगाउन माग गर्नुभएको छ ।मागलाई बेवास्ता गरे कडा आन्दोलन गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी उद्योगले लिनुपर्ने उहाँले चेतावनी पनि दिनुभएको छ । जगदम्बा स्टिल्सभित्र विगतमा पनि यस्ता प्रकृतीका घटना हुँदै आएको र घटनामा हुने क्षतिको विवरण उद्योग प्रशासनले लुकाउदै आएको स्थानीयको आरोप छ ।

Leave a Reply