वीरगन्ज,विगतको नेतृत्वले गरेका कामहरु समेटेर वीरगन्ज महानगरपालिकाले वर्तमान अवस्थाको बारेमा श्वेतपत्र जारी गरेको छ ।
आइतबार महानगरको सभाकक्षमा पत्रकार सम्मेलन नै गरेर नवनिर्वाचित मेयर राजेशमान सिंहले श्वेतपत्र जारी गर्नुभएको हो ।
श्वेतपत्रमा महाननगरपालिकाको यसअघिको नेतृत्वले महानगरमा गरेका भौतिक र सामाजिक क्षेत्रमा गरेका कामहरु र ती काममा खर्च गरिएका बजेटका विवरणहरु समेटिएका छन् । यस्तै श्वेतपत्रमा महानगरको वर्तमान भौतिक पूर्वाधार, आर्थिक, शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था बारे पनि जानकारी गराइएको छ ।श्वेतपत्र जारी गर्दै नवनिर्वाचित मेयर सिंहले विगतको नेतृत्वले महानगरमा निर्माण तथा सन्चालनका रहेका भौतिक पूर्वाधार र योजनाहरु निर्माण सम्पन्न भइ सन्चालनमा आएको एक डेढ वर्ष नबित्दै जीर्ण अवस्थामा पुगेको अवस्था रहेको बताउनुभयो ।
भैतिक पुर्वाधार र योजना निर्माणमा बजेट खर्च गरिएको तर खर्च भएको बजेट अनुसार गुणस्तरीय कामहरु भने भएको नपाइएको सिंहले बताउनुभयो । संचालनमा ल्याइएका र संचालनमा नआउदै जीर्ण भएका भौतिक पूर्वाधारहरुको अवस्था बारे नगरवासीलाई जानकारी नदिइ त्यसको सुधार र मर्मतमा काम गर्दा आफुमाथि प्रश्न उठ्ने भएकाले श्वेतपत्र जारी गरेर जनतालाइ जानकारी गराउनु परेको पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो ।
अघिल्लो नेतृत्वको कार्यकालमा भएका बेथितिहरु सुधार गर्दै हाम्रो वीरगन्ज राम्रो वीरगन्ज बनाउने मुल उदेश्य लिएर आफु अगाडि बढेको उहाँको भनाइ छ । श्वेतपत्रमा यसअघिको नेतृत्वको कार्यकालमा सडक कालोपत्रे, भूमिगत ढल तथा नाला, नयाँ बसपार्क टर्मिनल, फोहोर पानी प्रशोधन केन्द्र, अस्पतालजन्य फोहोर प्रशोधन केन्द्र लगायतका सबै ठूला परियोजनामा गुणस्तरहीन निर्माण कार्य गरिएको उल्लेख छ ।
यस्तै उज्यालो वीरगन्जमा पनि अनियमितता भएको भन्दै श्वेतपत्रमा महानगरका सार्वजनिक सम्पतिको दोहन गरिएको, सवारीसाधन र त्यसमा लाग्ने इन्धनको दुरुपयोग, महानगरले असुल उपर गर्नु पर्ने बेरुजु रकम वर्षेनी बढ्दै गएको, शिक्षण सस्ंथाहरुमा बेतिथि बढेको लगायतका बुदाँहरु तथ्याङ्कसहित उल्लेख गरिएको छ ।
महानगरमा नयाँ नेतृत्व निर्वाचित भएर आएपछि गत जेठ २३ गते बसेको नगरकार्यपालिकाको पहिलो बैठकले नै श्वतेपत्र जारी गर्ने निर्णय गरेको थियो ।