वीरगञ्ज,वीरगञ्ज महानगरपालिका– १० स्थित बौधिमाई मन्दिर नजिकको एउटा आँपको रुखमा भगवान् हनुमानजीको आकृति देखिएपछि दर्शनका लागि आउने भिड बढेको छ ।
रुख मुनि घाँस काटिरहेकी स्थानीय एक महिलाले बुधवार रुखको बोक्रामा हनुमानजीको पूर्ण आकृति देखेपछि छिमेकीहरूलाई जानकारी गराएपछि हल्ला फैलिएपछि वीरगञ्जका विभिन्न वडाबाट हेर्न आउनेहरुको भिड बढ्न थालेको हो ।
यसैक्रममा बिहीबार पनि पर्सा, बारा जिल्लाका साथै सीमावर्ती भारतीय शहरहरू रक्सौललगायतका क्षेत्रबाट श्रद्धालुहरूको ओइरो लागेको छ । स्थानीयहरूले रुखमा देखिएको आकृतिलाई साक्षात् भगवान् श्री हनुमानजीको प्रकटीकरण भन्दै रुखको फेदमा पूजा सामग्री राखेर पूजापाठ शुरु गरेका छन् । उनीहरुले फूल, धूप, दीप र प्रसाद चढाएर पूजापाठ गरेका हुन ।बौधिमाई मन्दिरका पूजारी ददन ओझाले आकृति प्रकट भएदेखि नै दिनरात श्रद्धालुहरूको भिड शुरु भएको बताउनुभयो । २ दिनयता हजारौँले दर्शन गरी पूजापाठ गरेको जानकारी दिँदै उहाँले अन्य श्रद्धालुहरुलाई पनि दर्शन गर्न आग्रह गर्नुभएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सुशीलकुमार कानुले हनुमानजीको आकृति प्रकट हुने घटनालाई धार्मिक आस्थाको रुपमा लिनुपर्नेभन्दै संरक्षणमा जोड दिनुभएको छ । उहाँले उक्त स्थान आफ्नो वडामा पर्ने र त्यसको संरक्षणका लागि आवश्यक कदम चालिने जानकारी दिनुभयो ।
श्रद्धालुहरूको सुविधाका लागि व्यवस्थापन गर्न वडा कार्यालय तयार रहेको पनि उहाँले बताउनुभयो । कानुले महानगरपालिकासँग समन्वय गरी दीर्घकालीन संरक्षण र मन्दिर निर्माणको योजना अघि बढाउन सकिने पनि बताउनुभयो ।स्थानीयहरूले वीरगञ्ज महानगरपालिकासँग आकृति देखिएको स्थानमा भव्य हनुमान मन्दिर निर्माण गर्न आग्रह गरेका छन् ।



















